कमेडियन विक्की अग्रवालको शो 'आम्मा कसम याँ दुख्छ' को दोस्रो सिजन आगामी शनिबारदेखि प्रसारण हुने भएको छ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै शोको पहिलो भागको प्रोमो सार्वजनिक गरिएको छ। दोस्रो सिजनमा पहिलो अतिथि राजनीतिज्ञ केशव स्थापित रहेका छन्।
यो शो हरेक शनिबार राती ८:४५ बजे नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) र ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रसारण हुनेछ।
शोकी निर्देशक श्रृद्धा प्रसाईंका अनुसार शोबाट दर्शकले यसपटक अझ बढी मनोरन्जन लिन सक्नेछन्। 'हामीले यसपटक पहिलो सिजनको तुलनामा बढी मिहेनत गरिरहेका छौं। परिवर्तनको कुरा गर्दा कमेडियन प्रनेश गौतम भित्रिएका छन्,' उनले भनिन्।
यो शोको पाँच वटा भाग छायांकन भइसकेको छ। शोमा कलाकारदेखि राजनीतिज्ञ समावेश गर्ने शोका होस्ट विक्की अग्रवालले बताए।
यस शोमा विक्की अग्रवाल होस्टको रूपमा छन् भने बिना त्रिपाठी डिजे मायाको भूमिकामा देखिनेछिन्। यस्तै दोस्रो सिजनका लागि रिपोर्टर पिंकुको भूमिकामा प्रनेश गौतम भित्रिएका हुन्।
शुशान्त बस्याल र विकाश अर्यालको लेखन रहेको शोको स्टाइलिस सुदेशना महर्जन हुन्। शोको प्रोडक्सन म्यानेजरको काम तुसार लम्सालले गरेका छन्।