आगामी भदौ १४ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिवशंकर रिजाल 'जोगिन्दर' ले गाईजात्रे कमेडी 'लुछाचुँडी' ल्याएका छन्।
बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गाईजात्रा सार्वजनिक गरिएको हो।
'लुछाचुँडी' मा भष्टाचारलाई मुख्य मुद्दाको रूपमा प्रस्तुत गरिएको छ। भारतभित्र नेपालको भु-भाग राखिएको विषय पनि उनको यो पटकको गाईजात्रामा परेको छ। भारतको चेपा र हेपा प्रवृतिप्रति समेत उनले व्यंग्य प्रहार गर्न भ्याएका छन्।
यस्तै गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समेत उनले व्यंग्यमा समेटेका छन्।
उनले आफ्नो गाईजात्रे कोसेलीमा प्यारोडी पनि राखेका छन्। यो पटक उनले फिल्म 'घामट शेरे' को चर्चित गीत 'कहिले साली मनपर्यो' लाई 'कहिले देउवा मनपर्यो, कहिले ओली मनपर्यो' भन्दै प्यारोडी बनाएका छन्।
जोगिन्दरलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन्। गीतका शब्द लोकराज अधिकारीले लेखेका हुन्।
'लुछाचुँडी' मा जोगिन्दरसँगै घनश्याम गौतम, सुरेश तिमिल्सेना, गोपाल नेपाल, राधिका हमाल, सावित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेव गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्कीलगायत कलाकारको अभिनय छ।
दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको यो २१ औं कोसेली हो। 'लुछाचुँडी' को लेखन, प्रस्तुति र निर्देशन शिवशंकर रिजाल 'जोगिन्दर' आफैले गरेका हुन्।
उनी अहिले 'गाईजात्रा टुर' को तयारीमा छन्। चितवनदेखि कन्चनपुरसम्म हुने 'गाईजात्रा टुर' विभिन्न चर्चित हास्य कलाकारको सहभागीता रहनेछ।