दयाहाङ राईको अभिनय रहने फिल्म 'रंगेली ग्याङस्टर्स' नाम परिमार्जन गर्दै 'रंगेली' राखिएको छ।
सोमबार निर्माण टिमले प्रेस विज्ञप्ति जारी गर्दै फिल्मको नाम परिमार्जन गरेको जानकारी दिएका हुन्।
'यस फिल्मको छायांकन हुने स्थान मोरङ जिल्लाको रंगेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो। त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट यस फिल्मको शीर्षकमा परिमार्जनको लागि आग्रह गरिएको थियो। उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो। यद्यपी फिल्मको स्क्रिप्टमा कुनै परिमार्जन गरिएको छैन,' विज्ञप्तिमा लेखिएको छ।
साथै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। यो फिल्म महाशिवरात्रीको अवसरमा फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ।
फिल्ममा दयाहाङ राई, मिरूना मगर, अर्पण थापा, प्रविण खतिवडालगायत कलाकारको अभिनय रहनेछ। आगामी भदौ २० गतेबाट फिल्म छायांकनमा जानेछ। फिल्मलाई सुशन प्रजापतिले छायांकन गर्नेछन्।
फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन्। संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव थपलिया सह-निर्माता छन्।