अनिल बुढा मगरको लेखन र निर्देशनमा फिल्म 'घर ज्वाइँ' बन्ने भएको छ।
फिल्ममा अभिनेता दयाहाङ राई र मिरूना मगर जोडीको रूपमा प्रस्तुत हुनेछ। 'कबड्डी ४' र 'जारी' हिट भएपछि दयाहाङ र मिरूनालाई एकसाथ फिल्ममा लिने निर्माताको संख्या बढ्दो छ।
फिल्मका निर्देशक अनिलले मगर समुदायको कथा भएको कारण फिल्ममा दयाहाङ र मिरूनालाई लिएको बताए।
'यो फिल्म मगर संस्कृतिमा आधारित छ। मगर समुदायकै अभिनेता राख्ने कुरा भएको थियो तर भेटिएन। निर्माण टिमको सल्लाहअनुसार नै दयाहाङ राईलाई राख्ने कुरा भयो। मिरूना त मगर नै भइहालिन्,' उनले भने।
जिएम मुभी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा दयाहाङ र मिरूनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा काउचालगायत कलाकारको पनि अभिनय रहनेछ।
जनक घर्ती मगर निर्माता रहेको फिल्मको पटकथा निर्देशक मगरसहित विनोद खतिवडा र सुवास कोइरालाले तयार पारेका हुन्। यो फिल्मको छायांकन पूर्वी रूकुममा हुनेछ।
फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।