एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) मा नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुला गरेको छ।
समितिले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली फिल्मलाई प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सहभागी गराउन आवेदन माग गरेको हो।
समितिले प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले आफ्नो फिल्म २०२३ सेप्टेम्बर १५ तारिख अर्थात भदौ २९ गते शुक्रबार दिनको ५ बजेभित्र आवेदन बुझाउन आग्रह गरेको छ।
समितिले गत सालको असोज १५ देखि यो वर्षको असोज १४ गतेअघि प्रदर्शन भएका फिल्मले सहभागिता जनाउन सक्ने जनाएको छ। अस्करमा सहभागी हुन एक हप्ताभन्दा बढी हलमा प्रदर्शन भएको प्रमाण पेस गर्नुपर्ने बताइएको छ।
द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेसले सन् २०२४ मार्च १० तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा ९६ औं अस्कर अवार्ड प्रदान गरिनेछ।
उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सहभागी गराउन फिल्म निर्देशक राजु केसीको नेतृत्वमा समिति गठन गरिएको हो।