त्रिदिवसीय साहित्य महोत्सव 'सूर्य नेपाल काठमाडौं- कलिङ साहित्य महोत्सव' का सम्पूर्ण सेसनहरूको तालिका सार्वजनिक भएको छ।
भदौ १५ गते (शुक्रबार) देखि सुरू हुने साहित्य महोत्सवमा ५ दर्जन सेसन हुने आयोजकद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जनाइएको हो।
दक्षिण एसियाका नेपाललगायत भारत, भुटान, बंगलादेश र श्रीलंकासमेतका लेखक तथा कलाकारहरू भेला हुने अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ।
५७ वटा सेसन रहेको महोत्सवको पहिलो दिनको पहिलो सेसनमा विवेक डेब्रोय, जगमान गुरुङ, अवधेष प्रधान र बिना पौडेलले 'शक्ति र भक्ति-सभ्यतागत सम्बध, विश्वव्यापी विचारको केन्द्र नेपाल' शीर्षकमा छलफल गर्नेछन्।
महोत्सवको पहिलो दिन बलिउड अभिनेत्री तथा लेखक दिव्य दत्ताले आफ्नो फिल्म यात्राबारे प्रस्तुति दिनेछिन् भने दोस्रो दिन बलिउड अभिनेत्री मनिषा कोइरालाको उपस्थिति रहनेछ। अभिनेत्रीद्वय दिव्या र मनिषाले दक्षिण एसियाली फिल्मका चुनौती र सम्भाव्यताबारे अन्तर्क्रिया गर्ने कार्यक्रम छ।
हरेक दिन कविता, गजल तथा कथा वाचनसमेत हुने महोत्सवमा तेस्रो दिन ललितपुरका मेयर चिरिबाबु महर्जनको उपस्थिति रहनेछ। ललितपुरकै होटल हिमालयमा हुने कार्यक्रममा मेयर महर्जन र रेणु दाहालसँग हुने अबको कस्तो नगर? शीर्षकको बहसमा महोत्सवकी अध्यक्ष रञ्जना निरौलाले सहजीकरण गर्नेछिन्।
यो महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरू गरिएको हो। दक्षिण एसियाली संवादको केन्द्रीय थलोको रूपमा स्थापित गर्दै महोत्सवले नेपाललाई विश्वव्यापी स्तरमै पहिचान दिने केएलएफकी संस्थापक तथा निर्देशक रश्मी रञ्जन परीडाले विश्वास व्यक्त गरिन्।
'यशस्वी प्रज्ञा प्रतिष्ठान' नेपालमा विभिन्न साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवर्धन गर्ने संस्था हो भने 'कलिङ साहित्य महोत्सव' भारतको एक अग्रगामी संस्था हो जसले भारतका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान र प्रवर्धन गर्दै आएको छ। सूर्य नेपाल मुख्य प्रायोजक रहेको महोत्सवलाई एलआईसी नेपाल, हिमालय डायरी प्रायोजन गरेका छन्।