रघुजी फिल्म्स ब्यानरबाट निर्माण हुने फिल्ममा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्।
बिहीबार जनैपूर्णिमा, रक्षाबन्धन र गाईंजात्राको अवसर पारेर फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। अहिलेसम्म फिल्मको नाम तय गरिएको छैन।
पारिवारिक कथामा बन्ने फिल्ममा मुकुनसँगै मिलन मिश्र पनि अनुबन्ध भएका छन्। यही फिल्मबाट मिलनले डेब्यू गर्न लागेका हुन्। फिल्मका लागि दुई अभिनेत्रीको खोजी भइरहेको निर्माण टिमले बताएका छन्।
रघुनाथ सापकोटाको प्रस्तुतिमा निर्माण हुने फिल्म असोज पहिलो सातादेखि छायांकनमा जाने तयारी छ। फिल्मलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गर्नेछन्।
नविन भट्टले निर्देशन गर्ने फिल्मको कथा रघुनाथ सापकोटाले लेख्नेछन् भने पटकथा तथा संवाद सुनिल निउरेले तयार पार्नेछन्। फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ।