काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणमा बदलिँदो थारू संस्कृतिका विविध पक्षबारे छलफल गरिएको छ।
लेखक तथा अधिवक्ता शान्ति चौधरी, थारू संस्कृति अध्येता कृष्णराज सर्वहारी र रंगकर्मी सरस्वती चौधरीबीच 'थारू संस्कृति: हिजो र आज' छलफल भएको हो।
कार्यक्रमको सहजीकरण पत्रकार बुनू थारूले गरेकी थिइन्।
अधिवक्ता शान्ति चौधरीले थारू समुदाय विगतभन्दा उदार बन्दै आएको धारणा राखिन्।
पहिला अशिक्षा, अन्धविश्वास र रूढीवादी परम्परा रहेको अनुभव सुनाउँदै उनले भनिन्, 'काठमाडौंमा छँदा मैले सबै सेवा सुविधा पाएँ। तर, मेरो परिवारले थारू चलन परिवर्तन गर्न सकेन। उहाँहरूले बाराकै केटासँग मेरो बिहे गरिदिनुभयो। त्यहाँ गएर निकै दुःख भोग्नुपर्यो। शौचालय पनि राति जानुपर्ने। सबैले नखाएसम्म खाना खान नपाइने। तर, अहिले त्यस्तो छैन।'
पछिल्लो समय थारू समुदाय र अन्य समुदायबीच संस्कृति आदानप्रदान हुँदै गइरहेको उनले बताइन्।
'पहिले थारूहरू अरू समुदायसँग घुलमिल हुँदैन थिए। आफ्नो समुदायभित्र रमाउने हुँदा संस्कृति पनि उनीहरूबीच सीमित थियो। खेतीपातीमा निर्भर हुने उनीहरू अशिक्षित थिए', उनले भनिन्, 'तर, आधुनिक र वैज्ञानिक युगले गर्दा थारू संस्कृति र अन्य संस्कृतिबीच आदानप्रदान भएको छ। उनीहरू छोरीलाई पढाउने भएका छन्। रूढिवादी परम्परा पनि हराउँदै गएको छ।'
अर्का वक्ता सर्वहारीले थारू समुदायभित्र पनि विविधता रहेको बताउँदै पूर्वी नेपाल र पश्चिम नेपालका थारूहरूको फरक संस्कृतिबारे प्रकाश पारे।
उनले पूर्व र पश्चिमका थारूको संस्कृति फरक भएकैले पाठ्यक्रम निर्माणमा समस्या भएको बताए।
'लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई थारू भाषा लागू गर्नुपर्छ भनेर सरकारले सिफारिस गरेको छ। बिडम्बना, कैलाली जिल्लाको एउटा गाउँपालिकाबाहेक कसैले पनि लागू गरेको छैन। कैलालीले एक कक्षामा राखे पनि निरन्तरता दिएको छैन। एकदेखि पाँच कक्षासम्मको जनक शिक्षामा म पनि लेखक हुँ। त्यसमा पूर्वको एउटा र पश्चिमका थारूको भाषा फरक हुँदा पनि पाठ्यक्रम निर्माणमा समस्या आएको छ,' उनले भने।
थारू लेखक संघ बनाएर थारू संस्कृति र साहित्यको संरक्षणमा योगदान गरिरहेको सर्वहारीले बताए।
पूर्व र पश्चिमका थारू समुदायको भाषा र संस्कृतिमा विविधता छ। तर, मधेसी समुदायमा बस्ने हुँदा पूर्वको थारूहरूले भोजपुरी संस्कृति अपनाएको आरोप लाग्ने गर्छ।
शान्ति भने पूर्वीय थारूहरूले कसैको संस्कृति ग्रहण नगरेको बताउँछिन्।
थारू संस्कृतिको विकासमा राज्य अग्रसर हुनुपर्ने बताउँदै थारू भाषालाई पाठ्यक्रममा समेट्नुपर्ने उनको भनाइ छ।
सरस्वती चौधरीले कला र रंगमञ्चले थारू संस्कृतिको विस्तारमा सहयोग गरे पनि नाटकमा भने काम गर्न नसकेको बताइन्।
थारू समुदायमा एकता नहुँदा पहुँचमा पुगेका थारूहरूको पनि साथ नपाएको उनको दुखेसो छ।
महोत्सव आइतबारसम्म जारी रहनेछ।