प्रकाश सपूत अभिनीत फिल्म 'परदेशी २' र विपीन कार्की अभिनीत फिल्म 'पशुपति प्रसाद २: भष्मे डन' को प्रदर्शन मिति हेरफेर गरिएको छ।
यी दुवै फिल्म फूलपातीमा प्रदर्शन गर्ने भनिएको थियो। बिहीबार 'परदेशी २' का निर्माता नारायाण रायमाझी र 'पशुपति प्रसाद २' का निर्माता खगेन्द्र लामिछानेले दुई फिल्मलाई फरक मितिमा प्रदर्शनमा ल्याउने सहमतिमा हस्ताक्षर गरेका छन्।
अब 'परदेशी २' असोज २६ गते प्रदर्शन हुनेछ भने 'पशुपति प्रसाद २' कात्तिक ४ गतेदेखि प्रदर्शन हुनेछ।
'जुधेर होइन, जुटेर सफलता हात पार्ने सकिन्छ भन्ने कुराको पाठ नेपाली फिल्मका कतिपय जुधाईले हामीलाई सिकाइसकेको छ। त्यसैले पनि हामी जुधेर होइन, जुटेर जाने निर्णय गर्न सफल भयौं। हाम्रो यो जुट्ने अभियानमा साथ दिनुहुने नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ र डिसिएनलाई धन्यवाद,' जारी विज्ञप्तिमा लेखिएको छ।
नारायण रायमाझीले निर्देशन गरेको फिल्म 'परदेशी २' मा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ। यो लोकगायक प्रकाश सपूतको डेब्यू फिल्म हो।
दिपेन्द्र के खनाल निर्देशित फिल्म 'पशुपति प्रसाद २ः भष्मे डन' मा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, विशु पौडेल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ।