शुक्रबार प्रिमियर हुन लागेको फिल्म 'द रेड सुटकेस' ले प्रिमियर अगावै अवार्ड जितेको छ।
फिल्मले फन्डापजियोनी फाई पर्सनो लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको हो। फिल्म समीक्षक, सांस्कृतिक संस्था र फिल्मकर्मीको संस्थाले स्वतन्त्र रूपमा प्रदान गर्ने यो अवार्ड 'द रेड सुटकेस' लाई यसमा गरिएको मेहनतका लागि प्रदान गरिएको संस्थाद्धारा जारी इमेलमा जनाइएको छ।
'फिल्मले यथार्थ र कल्पनाको बीचमा रहेर काव्यिक कथावाचन गरेको छ। छायांकनको उच्चता मार्फत फिल्मले नेपाली समाजको बसाइँ सराइको दुर्दान्त कथा प्रस्तुत गर्छ। सांस्कृतिक पृष्ठभूमिमा रहेर फिल्मले विश्वजनीन कथा पनि प्रस्तुत गरेको छ,' जुरी साइटेसनमा भनिएको छ।
निर्देशक फिडेल देवकोटाले अवार्डले जिम्मेवारी थपिएको बताएका छन्। 'मुख्य प्रतिस्पर्धाको निर्णय आउन बाँकी नै छ। तर साइड इभेन्टमा पनि फिल्मले अवार्ड जित्नुको मतलब हामी कथावाचनमा धेरथोर सफल भएको संकेत हो। हामी खुसी छौं,' उनले भनेका छन्।
विगत चार वर्षदेखि बाँडिदै आएको यो विधाको उत्कृष्ट फिल्मको पुरस्कार भने रेयुसुके हामागुचीको फिल्म 'इभिल डजनट एक्जिस्ट' ले जितेको थियो।
फिल्मको शुक्रबार नै वर्ल्ड प्रिमियर हुन गइरहेको छ। प्रिमियरका लागि निर्माताहरू रामकृष्ण पोखरेल, शोभा थापा, निर्देशक फिडेल देवकोटा, छायांकार सुशन प्रजापति र कलाकारहरू सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ भेनिस पुगेका छन्।
शनिबार फिल्मको अवार्ड वितरण कार्यक्रम रहेको छ। प्रिमियर अगावै अवार्ड जित्नुले फिल्म खालीहात नफर्कने पक्का भएको छ।