गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल' सिजन ५ को कोच परिवर्तन गरिएको छ।
बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै कोच परिवर्तन गरिएको जानकारी दिइएको हो। अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार देखिने भएका छन्।
अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहनेछन्।
कार्यक्रममा शोको काम अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। डिजिटल अडिसनमा सहभागी भएका करिब ६० हजार आवेदकमध्येबाट १२० बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनको तयारीमा छन्।
'द भ्वाइस अफ नेपाल' सिजन ५ हिमालय टेलिभिजनबाट असोज ५ गतेदेखि प्रसारण हुने शोका निर्देशक लक्ष्मण पौडेलले बताए।