अपर्ण गिरी निर्देशित फिल्म 'वानर सेना' को प्रदर्शन मिति परिवर्तन गरिएको छ।
यो फिल्म असोज २६ गतेदेखि प्रदर्शन हुने भनिएको थियो। कार्तिक ४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म 'परदेशी २' एक हप्ता अगाडि सरेपछि 'वानर सेना' का निर्माताले आफूलाई अन्याय भएको भन्दै निर्माता संघमा उजुरी दिएका थिए।
बिहीबार निर्माता संघको न्यायिक समितिले दुवै फिल्मको निर्माण टिमलाई राखेर छलफल गराएको थियो। छलफलमा न्यायिक समितिका सभापति उदय सुब्बा, निर्माता संघका कार्यसमिति सदस्य किरण नेपाली, वितरक करण श्रेष्ठ, 'वानर सेना' का निर्माता युवराज गिरी र 'परदेशी २' का निर्माता राजेश वंशल सहभागी थिए।
छलफलमा दुवै फिल्मका निर्माताबीच एक आपसमा मिलेर जाने सहमति भएसँगै 'वानर सेना' एक हप्ता अगाडि असोज १९ गते र 'परदेशी २' असोज २६ मा प्रदर्शन हुने पक्का भएको हो।
गिरी ग्राण्ड फिल्म्सको प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्पण गिरी, आरजु प्रसाईं, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, कामेश्वर चौरासिया, तेजस्वी बास्कोटालगायत कलाकारको अभिनय छ।
युवराज गिरीको लगानी रहेको फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयं निर्देशक गिरीले नै लेखेका हुन्। विनोद सापकोटाले छायांकन गरेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।