रामबाबु गुरुङको निर्देशनमा बन्ने फिल्म 'डिग्री माइलाः एमए थर्ड क्लास' को शुभ मुहूर्त गरिएको छ।
शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो। मुहूर्तमा निर्देशक गुरुङसहित फिल्मका कलाकारहरू दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायत उपस्थित थिए।
फिल्मको छायांकन आगामी शुक्रबार असोज ५ गतेदेखि ओखलढुंगास्थित रूम्जाटारमा हुनेछ। दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुंगामा हुनेछ।
बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा शैक्षिक बेरोजगारीले युवाहरूमा ल्याएको निराशामा आधारित हुनेछ।
यो फिल्म २०८१ सालको नयाँ वर्षमा प्रदर्शन हुने बताइएको छ।