पाँचौं 'डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता २०८०' लागि कथा आह्वान गरिएको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि कथा आह्वान गरिएको हो। प्रतियोगितामा सहभागी हुन चाहनेले आउँदो असोज ३० गतेसम्म बाह्रखरीबुकस जिमेलमा कथा पठाउन सकिनेछ। संसारभरिबाट नेपाली भाषामा कथा पठाउन सकिनेछ।
बाह्रखरीलाई प्राप्त हुने सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ। आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ।
तीमध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीयका साथै ‘उत्कृष्ट कथा २०८०’ पुस्तकका लागि थप २२ कथा छानेर पठाउनेछ। निर्णायक समूहमा समीक्षक सावित्री कक्षपति छिन् भने सदस्यमा कथाकार महेशविक्रम शाह र लेखक सुविन भट्टराई छन्।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रूपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ।
संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रूपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ।
कथा प्रतियोगिताको नतिजा २०८० पुस ६ गते शुक्रबार एक विशेष समारोहका बीच सार्वजनिक गरिनेछ। सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा २०८०’ को लोकार्पण पनि गरिनेछ।