नेपथ्यले पहिलोपटक क्यानडामा संगीत यात्रा गर्ने भएको छ।
नेपथ्यले अक्टोबर १ तारिखमा क्यानडास्थित क्यालगरी सहरको 'द प्यालेस थिएटर', ४ तारिखमा भ्यानकुभर सहरको 'द भोग थिएटर' र ८ तारिखमा टोरन्टोस्थित 'म्यासी हल' मा प्रस्तुति दिन लागेको हो।
सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिहरूलाई 'मानवताका लागि संगीत' को नारासहित मानवता प्रवर्द्धन अभियानको शृंखलाको रूपमा प्रस्तुत गर्ने विचार अनुरुप यसपालिको नेपथ्य क्यानडा शृंखला पनि त्यही नारा अन्तर्गत अगाडि बढ्नेछ।
'क्यानडामा हुने प्राय नेपाली कार्यक्रमहरू अमेरिकी यात्रासँग जोडिएर आयोजना गरिएको पाइन्छ,' व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, 'नेपाली कलाकारहरूले क्यानडाको मात्र यात्रा गरेको घटना बिरलै हुने गरेकोमा यसपालि त्यो सम्भावनाको ढोका पनि उघार्ने अठोट लिएका छौं।'
क्यानडामा रहेका शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत् दिइरहेको सन्देश आफूलाई प्राप्त भइरहेको अमृत गुरुङले जानकारी दिए।
'कतिपय प्रसंशकहरूले समूह बनाउँदै अर्कै सहरदेखिको लामो दुरी तय गरेर पायक पर्ने सहरमा कन्सर्ट हेर्न आउने जानकारी दिइरहनुभएको छ। यो मायाका लागि म र मेरो टिम आभारी छौं,' उनले भने।
क्यानडाको तीन वटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।
क्यानडाका तीन वटै सहरहरूमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समय अनुसार बेलुकीको ५ बजे प्रवेश खुला गरिनेछ भने ठिक ७ बजे कन्सर्ट सुरू हुनेछ। आनलाइनबाट टिकटको बिक्री व्यवस्थापन भइरहेको यात्राका सबै कन्सर्टहरूमा विद्यार्थी समूहको निम्ति विशेष छुटको व्यवस्था पनि गरिएको छ।
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ। क्यानडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ।