बाबु साहेब बलामी निर्देशित फिल्म 'देव वाणी' को प्रदर्शन मिति तय गरिएको छ।
बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको हो। यो फिल्म पुस २७ गतेदेखि प्रदर्शन हुनेछ।
सार्वजनिक दुई पोस्टरमध्ये एक पोस्टरमा अभिनेता सुनिल थापा, कुन्दन भारद्धाज र अनुजा लेप्चालाई स्थान दिइएको छ। दोस्रो पोस्टरमा अभिनेता भारद्धाजलाई प्रस्तुत गरिएको छ।
फिल्ममा सुनिल, कुन्दन र अनुजासँगै ध्रुव कोइराला, घनश्याम गिरी, रविन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायत कलाकारको अभिनय छ। सिमरा, वीरगन्ज र काठमाडौंमा फिल्मको छायांकन गरिएको हो।
निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भइरहेको जानकारी दिए। फिल्मलाई नेपाल रिलिजकै दिन भारतका हलमा पनि प्रदर्शन गर्ने योजना निर्माण टिमको छ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले लेखेका हुन्। हरिबहादुर घलेले छायांकन गरेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गर्नेछन्।
श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता महेन्द्र यादव र अपार गुरुङ हुन्। फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ। फिल्मलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्म्सले वितरण गर्दैछ।