दीपेन्द्र लामा निर्देशित फिल्म 'नांगो गाउँ' ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ।
यसैबीच फिल्मको सिक्वेल बन्ने घोषणा गरिएको छ। सोमबार फिल्मका निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच फिल्मको सिक्वेल बनाउने विषयमा सहमति भएको हो।
'अ पोलिटिकल कमब्याक अर्थात एक राजनीतिक पुनरागमन' ट्याग लाइनसहित फिल्म 'नांगो गाउँ २' निर्माणको घोषणा गरिएको हो। फिल्मको सिक्वेलमा दयाहाङ राइले निर्वाह गरेको पात्र 'पासाङ' केही समयपछि गाउँ फर्किने कथालाई समावेश गरिनेछ।
'धेरै दर्शकले अभिनेताको हार र पलायनमा दु:ख व्यक्त गरेको पायौं। उहाँहरूले दोस्रो भाग चाहियो पनि भन्नुभएको छ,' निर्माता कडरियाले भने, 'हामीले पहिलो भागको छायांकनको क्रममा दोस्रो भागको परिकल्पना गरेका थियौं। अहिले सबैतिरबाट दोस्रो भागको माग आएकाले हामीले यसको योजनालाई अगाडि बढाउने निर्णयमा पुगेका हौं।'
दोस्रो भागमा जरीको आतंकबाट वाक्क भएका गाउँलेहरूले काठमाडौं गएर पासाङलाई फकाउने कथा देखाइने निर्देशक लामाले बताए।
फिल्मको छायांकन एक वर्षपछि गरिने बताइएको छ। त्यसअघि निर्माता कडरियाले निर्देशक लामालाई लिएर अर्को कमेडी फिल्म बनाउने तयारी गरेका छन्। 'नांगो गाउँबाट म सन्तुष्ट छु, त्यही भएर मैले दीपेन्द्रजीसँगको सहकार्यलाई निरन्तरता दिन लागेको हुँ,' उनले भने।
तिहारपछि छायांकनमा जाने फिल्मको नाम जुराउन बाँकी छ। फिल्मको कलाकार र प्राविधिक टिमको बारेमा केहि दिनपछि जानकारी दिने निर्माण टिमको तयारी छ।