नेपालमा पहिलोपटक भिडिओ गेम शैलीमा फिल्म 'बासेन्जी' बनेको छ।
यस फिल्मलाई अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टले निर्देशन गरेका हुन्। 'यो फिल्म दर्शकहरूलाई अनिश्चितताको यात्रामा लिएर जान बनाइएको हो। क्यामराको आँखाले मात्र देखेका कुरा यदि तटस्थ भएर हेर्न सकिन्छ भने सबै प्रश्नहरू गर्न स्वतन्त्र पनि भइन्छ,' फिल्मबारे निर्देशक क्लेमेन्ट भन्छन्, 'आफूले जसरी बुझ्दै गयो, त्यसरी नै कथा खुल्दै जान्छ र हरेक मोडमा छक्क पार्न सक्ने तत्त्वहरू पनि पाउन सकिन्छ। त्यसका लागि मैले कहिले प्रथम पुरुष त कहिले तृतीय पुरुषमा कथा भनेको छु, जुन हालसम्म भिडिओ गेममा मात्र छ। यो फिल्ममा आफू नै पात्र हुन पाइन्छ।'
यो फिल्मले आफ्नै संसार भएको अनुभव गराउने निर्देशक क्लेमेन्टले बताए। 'प्रथम पुरुष देखाउन मैले टाउकोमा राख्न सकिने क्यामरा माउन्ट तयार गरेको छु, जसलाई दृश्य देखाउन सकिने क्षेत्रमा मात्र प्रयोजन गरियो र पात्रको बिस्तार गर्न सोही क्यामराले खिचेको दृश्यमात्र प्रयोग गरियो। तृतीय पुरुषको कथाका लागि भने गिम्बल प्रयोग गरियो जसलाई केन्द्रीय पात्रको दायराभित्र मात्र सीमित गरियो। फिल्म सम्पादन गर्ने बेला यी दुई ध्रुवहरूलाई मध्यनजर गरेरै काटेका छौं,' उनले भने।
गौरीशंकर इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा मिथिला शर्मा, सरिता गिरी, असीम निरौला, सुप्रिम राई, मोक्ष अधिकारी, अंकित खड्का, प्रवेश उप्रेती, प्रतिक दुलाल, सुदिपा पाठक, निरु खड्कालगायत कलाकारको अभिनय छ।
यो फिल्म असोज २६ गतेदेखि प्रदर्शन हुँदैछ।