नेपालको पहिलो ओटिटी प्लेटफर्म सिनेमाघर एपमा फिल्म 'जारी' रिलिज भएको छ।
दसैंको अवसर पारेर आज घटस्थापनाको दिनदेखि फिल्म ओटिटीमा रिलिज गरिएको हो। हलमा सुपरहिट सावित भएको फिल्मको माग सिनेमाघर एपमा पनि उच्च रहेको थियो। सोही मागलाई मध्यनजर गर्दै फिल्म रिलिज गरिएको सिनेमाघरका सिईओ सागर खरेलले बताए।
यसवर्ष सर्वाधिक हिट फिल्म 'जारी' ले हलमा १७ करोडबढी कमाइ गरेको थियो। उपेन्द्र सुब्बाले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, मिरूना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङलगायत कलाकारको अभिनय छ।
यसअघि सिनेमाघर एपमा 'जय भोले, कबड्डी ४, महापुरुष' जस्ता फिल्म प्रदर्शन भइसकेका छन्। गत भदौमा रिलिज भएको 'महापुरुष' ले सिनेमाघरमा सफल व्यापार गरिरहेको छ।
सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा उपलब्ध छ। एपमा उपलब्ध फिल्महरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ। साथै गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ।
'जारी' हेर्न दर्शकले २०० तिर्नुपर्ने हुन्छ। यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर नि:शुल्क रूपमा समेत फिल्महरू हेर्न सकिन्छ।