महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित फिल्म 'अन्जिला' को छायांकन सुरू भएको छ।
मिलन चाम्सले निर्देशन गर्ने फिल्मको सोमबार एन्जिलाकै जन्मथलो इलाममा शुभमुहूर्त गरी छायांकन सुरू गरिएको हो। इलाम, झापा र काठमाडौंमा यस फिल्मको छायांकन हुनेछ।
पहिलो दिन माओत्से गुरुङ र सिर्जना सुब्बाको दृश्य छायांकन गरिएको छ। फिल्ममा एन्जिला स्वयं मुख्य भूमिकामा रहनेछिन्। उनीसँगै फिल्ममा दयाहाङ राई, मिरूना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतको पनि अभिनय रहनेछ।
एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइने निर्देशक चाम्सले जानकारी दिए। उनले ७५ प्रतिशत एन्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने समेत बताए।
यस फिल्ममा प्रदीप भारद्वाज र यम थापाको लेखन रहेको छ भने पटकथामा मुख्य सहायक निर्देशक गिरिराज घिमिरेले साथ दिएका छन्। सुदीप बरालले छायांकन गर्ने फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गर्नेछन्।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बागादिया सह-निर्माता छन्।