केही वर्ष अघिसम्म निरन्तर सहकार्य गर्दै आएका कलाकारहरू हुन् दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल।
दीपकराज गिरी र दीपाश्री निरौलाको टिमभित्र रहेर जितुले फिल्म 'छ एकान छ' देखि 'छ माया छपक्कै' सम्म सहकार्य गरे।
यो टिमसँग अहिले केदार घिमिरेको सहकार्य निरन्तर रहँदा जितु अघिल्लो फिल्मबाट बाहिरिइसकेका छन्। त्यो भन्दा केही समय अघिदेखि दीपक–दीपासँग उनको सम्बन्ध हार्दिक नरहेको चर्चा सुरू भएको थियो।
यतिबेला त्यो चर्चालाई बल पुग्ने गरी उनीहरूको फिल्म एकैदिन रिलिज हुँदैछन्।
दीपक–दीपाको 'छक्का पञ्जा ५' र जितु नेपाल अभिनीत 'ज्वाइँ साब' ले असोज २४ लाई रिलिज मिति तय गरेका छन्।
पछिल्लो दीपकराज र जितुलाई दर्शकले एकसाथ कमै देख्न पाएका छन्। सोमबार भने यो सुखद् संयोग देखियो।
दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरे एउटै फ्रेममा देखिए।
सन्दर्भ थियो– चलचित्र विकास बोर्डका नव–नियुक्त अध्यक्ष दिनेश डिसीलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रम।
सोमबार बिहान विकास बोर्डमा आयोजित कार्यक्रममा उद्घोषकले शुभकामनाका लागि सुरूमा दीपकराज गिरीलाई स्टेजमा बोलाए। उनीसँगै केदार घिमिरे र जितु नेपाललाई पनि मञ्चमा निम्त्याए।
यी तीनै कलाकारले दिनेश डिसीलाई आफ्नो कलाकारिताको गुरू मान्दै आएका छन्।
दीपकराज, जितु र केदारले पालैपालो दिनेशलाई बधाईसँगै शुभकामना दिए। त्यसपछि एउटै फ्रेममा रहेर तस्बिर समेत खिचाए।
दीपकराज र केदारले जितुको फिल्मलाई शुभकामना दिए। उनले पनि 'छक्का पञ्जा ५' लाई शुभकामना दिए। उनीहरूले एकअर्कालाई मिठाई समेत खुवाए। विकास बोर्डको कार्यक्रममा यो माहोल पनि विशेष रह्यो।