मीनबहादुर भाम निर्देशित फिल्म 'शाम्बाला' को प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आउने भएका छन्।
फिल्मका एसोसियट निर्माता मिन्सो लिम्बूका अनुसार उनीहरू फिल्मको प्रिमियरमा सहभागी हुन भदौ २२ गते नेपाल आउने छन्। फिल्मको प्रिमियर भने भदौ २३ गते राखिएको छ।
'बर्निन फिल्म फेस्टिभलमा नवाजुद्दीनले शाम्बाला हेर्नु भएको थियो। त्यतिबेला निर्देशक भाम र नवाजुद्दीनबीच सँगै काम गर्ने कुरा भएको थियो। प्रिमियरमा नवाजुद्दीन र अनुराग विशेष अतिथिका रूपमा सहभागी हुनेछन्,' उनले भने।
यो फिल्म बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको थियो।
मीनबहादुर भाम निर्देशित फिल्ममा हिमाली भेगकी गर्भवती महिलाले ल्हास्सामा हराएको श्रीमान खोज्दाको कथा समेटिएको छ। फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायत कलाकारको अभिनय छ।
यो फिल्म भदौ २८ गतेदेखि हलमा प्रदर्शन हुँदैछ।