फिल्म 'खुस्मा' विशुद्ध प्रेमकथामा बनेको कलाकारहरूले बताएका छन्।
अभिनेता धिरज मगरले द्वन्द्वकालको समयको प्रेमकथालाई फिल्ममा देखाइएको बताए।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'यो द्वन्द्वकालको समयको एकदमै पिओर र इनोसेन्ट लभस्टोरी हो। द्वन्द्वले दुई जनाको रिलेशनसीपमा पारेको प्रभावलाई देखाइएको छ।'
रूकुमको मैकोट गाउँमा हुर्किएका युवायुवतीको प्रेमकथालाई फिल्ममा देखाइएको उनले बताए।
अभिनेत्री उपासना सिंह ठकुरीले फिल्ममा आफूले यसअघि भन्दा फरक र नयाँ भूमिका निर्वाह गरेको बताइन्।
'हामी दुबै जनाले यस खालको क्यारेक्टर गरेका थिएनौं जस्तो लाग्छ,' उनले भनिन्।
फिल्मको स्क्रिप्ट सुन्ने बित्तिकै मन परेको उपासनाले स्मरण गरिन्। लोकेसन हन्टिङमा आफू पुगेको बताउँदै त्यसले अभिनयमा सहज भएको अनुभव सेयर गरिन्।
धिरजले फिल्ममा काम गर्नुअघि द्वन्द्वकालको समयलाई बुझन्का लागि केही डकुमेन्ट्री हेरेको साथै पुस्तक समेत अध्ययन गरेको बताए।
लेखक एवं निर्देशक अशोक थापा मगरले फिल्म द्वन्द्वकालको समयको कथा भए पनि द्वन्द्वको कथा भने नभएको प्रष्टयाए।
'द्वन्द्वकालको समयको कथामा धेरै फिल्म बनेका छन्। तर यसमा हामीले त्यतिबेलाको मायाप्रेमलाई देखाएका छौं,' उनले भने, 'यो हामी आफैले भोगेको कथा हो भन्ने लागेर फिल्म बनाएका हौं। यसमा केही म्यासेजहरू पनि छन्। तर त्यसलाई अहिले नखुलाई दर्शकलाई छाड्न चाहान्छौं।'
उनले फिल्मको स्क्रिप्ट लेख्दा नै कलाकारका रूपमा धिरज र उपासनालाई सोचेर लेखेको बताए। 'उहाँहरूको समय पनि मिल्यो र राम्रोसँग फिल्म तयार भयो,' थापा मगरले भने।
रूकुमको मैकोटमा यो फिल्मको छायांकन गरिएको हो। निर्देशक मगरले त्यहाँ खिचिए पनि यो समग्र नेपालीले भोगेको कथा भएको बताए।
फिल्मको सार्वजनिक गीत र टिजरलाई दर्शकले रूचाएका छन्। फिल्मलाई पनि दर्शकले रूचाउने विश्वास निर्माण टिमको छ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा निर्मातामा वीर बहादुर लामा, चन्द्र भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन्।
फिल्म असोज ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ। यसलाई काफिया फिल्मस् र कुवेर फिल्मले वितरण गर्नेछन्।