तीजको अवसर पारेर भोलिदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'देवी' को काठमाडौंमा प्रिमियर गरिएको छ।
बुधबार बेलुका आयोजित प्रिमियरमा 'कास्ट एण्ड क्रु' सहित फिल्मकर्मीको उपस्थिति रह्यो।
अभिनेता कार्म, गजित विष्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर, निर्देशक सौरभ चौधरीलगायतले प्रिमियरमा पुगेर फिल्म हेरे।
फिल्मका मुख्य कलाकारहरू शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक संजोग राई लगायत हल पुगेका थिए।
प्रिमियरबाट निस्किँदै गर्दा अधिकांशले फिल्म उत्कृष्ट बनेकाले ठूलो माससम्म पुग्न जरूरी रहेको प्रतिक्रिया दिए।
निर्देशक सौरभ चौधरीले ‘देवी’ जस्तो कन्टेन्ट बेसको फिल्म निर्माण गर्ने हरेक मेकरको सपना हुने बताए।
अभिनेत्री सृष्टि श्रेष्ठले पनि फिल्मको बिषयवस्तुले भावुक बनाएको बताइन्।
अभिनेत्रीद्धय लुनिभा तुलाधर र मेनुका प्रधानले पनि फिल्म उत्कृष्ट बनेको भन्दै यस्ता फिल्मलाई धेरै भन्दा धेरै दर्शकले हेरेर बहसको रूपमा लैजानुपर्ने बताए।
अभिनेता कार्मले 'देवी' ले गहन विषयलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेकाले आफ्नो मन छोएको बताए।
फिल्मका कलाकारहरू र निर्देशक संजोग राईले आफूहरूको लामो परिश्रम प्रिमियरमा मिलेको प्रतिक्रियाले सफल भएको अनुभव भइरहेको सुनाए।
निर्देशक राईले हल रिलिज पश्चात नेपालमा विभिन्न ठाउँमा फिल्म देखाएर समाजलाई जागृत गराउने तयारी समेत रहेको बताए।
क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन्। एक्जिबिट स्टुडिओको प्रस्तुतिमा निर्माण भएको फिल्म सार्वजनिक प्रदर्शनमा बाँसुरी फिल्म्सले सहकार्य गरेको छ।
फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जिवनजंग खड्का र विकास पन्तको अभिनय छ।
रेमन गुरूङ र संजोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरूङ, नारायण गुरूङ र मिलन लामा हुन्।