आइफोनबाट खिचिएको फिल्म 'अ प्लेस अन्डर द सन' को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ।
अस्कर फिल्म कलेजबाट ब्याचलर पास गरेका विद्यार्थीहरूले आइफोन १४ प्रो म्याक्सबाट छायांकन गरेको यो फिल्मलाई शुक्रबार बेलुका सुन्धारास्थित सीडीसी सिनेमाजमा प्रदर्शन गरिएको थियो। जहाँ फिल्मको टिम, फिल्म कलेजका विद्यार्थीसहित अन्य फिल्मकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रह्यो।
जेसन लोप्चनको लेखन तथा निर्देशनमा क्राइम जनरामा फिल्म बनेको हो। यसमा बाल्यकालदेखि मिल्ने ३ जना साथीको कथालाई देखाइएको छ। फिल्ममा मीरा गुरूङ, मीन घलान, मीरा गुरुङ, अम्शु शर्मा, विप्लव गौली, प्रजन पौडेल, प्रवेश एमसी, रिदेन श्रेष्ठले अभिनय गरेका छन्।
प्रविन लिम्बूले फिल्मलाई खिचेका हुन्। वान स्क्वाड फिल्मको ब्यानरमा बनेको फिल्ममा सह निर्मातामा उमेश खड्का छन्।
फिल्मलाई छिट्टै रिलिज गरिने जनाइएको छ।