बुवा र छोराको आत्मीय सम्बन्धको कथा भन्ने फिल्म 'पूर्ण बहादुरको सारंगी' को गीत सार्वजनिक भएको छ। निर्माणपक्षले युट्युबमार्फत 'काँधेकुरी' बोलको गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर छ। भिडिओमा फिल्मका कलाकार विजय बराल र प्रकाश सपुत फिचर्ड छन्। उनीहरू बुवा र छोराको भूमिकामा छन्।
सार्वजनिक गीतको भिडिओ छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको विछोडको दृश्यबाट सुरू हुन्छ। त्यसपछि बुवा घरघरमा सारंगी रेट्दै गाउँदै पैसा संकलन गर्दै हिँडिरहेका छन्। छोरा सहर गएर पढ्छन्।
गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत केन्द्रित छ। बाउबाजेको पालादेखि नै माग्दै हिँड्नु परे पनि छोराले अब मागेर हिँड्नु नपरोस् भन्ने गीतले छोराको प्रगतिका लागि बुवाले गरेको दुःख र अपेक्षा बोलेको छ।
शिक्षाबीनाको जिन्दगी रातजस्तै निष्पट्ट अँध्यारो रहेको भन्ने गीतले छोराको उज्ज्वल भविस्यका लागि बुवाले गर्ने संघर्षको कथा देखाएको छ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्ममा विजय र प्रकाशसहित मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरूङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, स्वयम केसी, जान्वी पौडेललगायतको अभिनय छ।
सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन्।
फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेन्मेन्टले वितरण गर्दैछ । सोसल–ड्रामा जनरामा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथा प्रस्तुत गर्नेछ। फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन्।
फिल्म कात्तिक १५ गते रिलिज हुनेछ।
भिडिओः