एक समयका चर्चित कलाकार अभिनेत्री निरूता सिंह र अभिनेता उत्तम प्रधान एकसाथ नेपाल आएका छन्।
उनीहरू एक म्युजिक भिडिओमा अभिनय गर्न मंगलबार काठमाडौं आइपुगेका हुन्।
निरूता र उत्तमको यो वर्षौपछिको सहकार्य हुनेछ।
'यो जुनी यस्तै भो' बोलको गीतको भिडिओमा उनीहरूले सहकार्य गर्नेछन्। यो गीत बबी सुब्बा लिम्बुले लेखेकी हुन्।
हरि लम्सालको संगीत, उदयराज पौडेलको एरेन्ज रहेको गीतमा केशव भावुकले स्वर दिएका छन्। भिडिओको बिहीबार र शुक्रबार छायांकन गर्ने तयारी रहेको निर्देशक मिराज अर्यालले बताए।
'दुई दिन लगाएर चित्लाङमा छायांकन गर्दैछौं। दर्शकले रूचाउनुभएको जोडीको वर्षौंपछिको सहकार्यमा जोडिन पाउँदा एकदमै उत्साहित छु,' अर्यालले भने।
निरूता र उत्तमले दर्पण छायाँ, लहना, उपहार लगायत फिल्ममा सहकार्य गरेका छन्। उनीहरूले १२ वर्षपछि सँगै काम गर्न लागेका हुन्।