बिहीबारदेखि प्रदर्शनमा आउने फिल्म 'खुस्मा' लाई प्रिमियरमा तारिफ मिलेको छ।
मंगलबार साँझ काठमाडौंको बिग मुभिजमा गरिएको प्रिमियरमा उपस्थितले यसको कथावस्तु, निर्देशकीय पक्ष तथा कलाकारहरूको अभिनयको प्रशंसा गरेका हुन्।
प्रिमियरमा फिल्मकर्मीदेखि राजनीतिज्ञसमेतको उपस्थिति थियो। सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरूङ, घनश्याम लामिछाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेता सलिनमान बनियाँ, आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरूङ, पशुपति राई, लुनिभा तुलाधर तथा रुकुमका स्थानीय बासिन्दा समेत प्रिमियरमा सहभागी थिए।
फिल्म हेरेर हलबाट निस्कँदै गर्दा अधिकांशले निर्देशक अशोक थापा मगरको निर्देशकीय पक्ष तथा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयले मन छोएको बताए। फिल्मको कथालाई माओवादी द्धन्द्वको असर भोग्ने सबैले आफैलाई परेको महसुस गर्ने उनीहरूको भनाइ थियो।
सांसद ज्ञानेन्द्र शाहीले खुस्मा फिल्म जस्तो नभइ एउटा दस्तावेज जस्तो भएको बताए। ‘खुस्मा खासमा भन्दा दस्तावेज नै हो। निर्देशक अशोकजीले पहिलो पटक फिल्म निर्देशक गर्नु भएको भन्ने कुरा विश्वास नै लागेको छैन। किनभने फिल्म हरेक एंगलबाट प्रस्टसँग प्रस्तुत गर्नुभएको छ,' उनले भने, 'एकजना सामान्य मान्छेको जीवनमा राज्य पक्ष र बिद्रोही पक्षबाट के कति असर पर्यो भन्ने कुरा स्पष्ट रूपमा देखाउनुभएको छ।'
कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राईले खुस्मा हेरिरहँदा केही ठाउँमा आफू निकै भावुक समेत भएको बताइन्। उनले धिरजसँगै मुख्य अभिनेत्री उपासनाको अभिनयको पनि तारिफ गरिन्।
निर्देशक निश्चल बस्नेतले खुस्माका निर्देशकले भन्न खोजेको कुरालाई राम्रोसँग प्रस्तुत गरेको बताए। उनले उपासना र धिरजको कामको पनि प्रशंसा गरे। अभिनेता सलिनमान बनियाले पनि फिल्म मन परेको बताए।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन्। फिल्मको निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन्। फिल्ममा धिरज र उपासनासहित माओत्से गुरूङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरूण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायत कलाकारहरूको अभिनय छ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावकाबीच अंकुराएको प्रेमलाई पर्दामा देखाएको छ।
-तस्बिरहरू