भारतीय फिल्म 'आदिपुरुष' को विवादबारे दायर मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।
२०८० सालको जेठमा प्रदर्शनमा आएको यो फिल्ममा समावेश 'सीता भारतकी छोरी हुन्' भन्ने संवादमा आपत्ति जनाउँदै नेपालको सेन्सर बोर्डले प्रदर्शन रोकेको थियो।
विवादित संवाद हटाएर पुनः प्रदर्शनको अनुमति दिएपछि अधिवक्ता अनिता सापकोटाले फिल्मको प्रदर्शनमा रोक लगाउनु भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र केन्द्रीय चलचित्र जाँच समितिलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
यसमा सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले मंसिर २५ गते नै फैसला सुनाए पनि पूर्णपाठ हालसालै सार्वजनिक भएको हो।
जसमा फिल्ममा राष्ट्रिय विभूति लगायतका विषय उल्लेख गर्दा सम्बन्धित निकायबाट अग्रिम रूपमा अनुमति लिएर मात्र समावेश गर्ने व्यवस्था मिलाउन आदेश जारी गरिएको छ।
त्यस्तै, विदेशमा निर्माण भएको फिल्म नेपालको शान्ति सुरक्षा, मित्र राष्ट्रसँगको सम्बन्ध, विभिन्न जातजातिबीचको सुसम्बन्ध, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आघात पुर्याउने, सार्वजनिक हित, सरोकार तथा सदाचार र नैतिकता प्रतिकूलताका कार्यलाई बढवा दिने एवं लैंगिक हिंसालाई प्रश्रय दिने प्रकृतिका भए नभएको जाँच गरी फिल्मको मूल स्रोतमा नसच्चिएसम्म त्यस्ता सामग्री नेपालभित्र प्रदर्शन अनुमति नदिन भनिएको छ।
फिल्म सार्वजनिक प्रदर्शन भइसकेकाले हाल उक्त निवेदन माग बमोजिम प्रदर्शन रोक लगाउनू भनी आदेश जारी गर्न औचित्यपूर्ण नदेखिएको हुँदा निवेदन खारेज हुने ठहर पनि अदालतले गरेको छ।