संविधान दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौंको दरबारमार्ग क्षेत्रमा 'नेसनल डे कन्सर्ट' को आयोजना हुँदैछ।
सरकारले नागरिक स्तरको कार्यक्रमको आयोजना गर्न लागेको हो। अहिले दरबारमार्ग क्षेत्रमा स्टेज निर्माणको काम भइरहेको छ। दरबारमार्ग क्षेत्रमा सडक आवागमन भोलिसम्म बन्द रहनेछ।
यस कार्यक्रमका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार संविधान दिवसको दिन दरबारमार्गमा विभिन्न कार्यक्रमहरूको आयोजना हुँदैछ।
अपराह्न ४ बजेदेखि नै त्यहाँ विभिन्न फुड स्टलहरू राखिँदैछ।
त्यस्तै ५ बजेदेखि भने कन्सर्ट सुरू हुँदैछ। यस कार्यक्रममा कुनै सम्बोधन, कुनै आसन ग्रहण लगायतका काम भने हुनेछैन।
विशेषगरी युवा लक्षित कार्यक्रममा एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिनेछन्।
त्यस्तै, गायक स्वप्न सुमन, कुटुम्ब ब्यान्ड, सुगम पोखरेलले गाउने कार्यक्रम रहेको बोर्डका अध्यक्ष डिसीले जनाकारी दिए।
‘विशेषगरी युवापुस्तालाई आकर्षण गर्नका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने, ‘यसका लागि हामीले युवापुस्तामाझ लोकप्रिय गायकहरूलाई पनि आमन्त्रण गरेका हौं।’
त्यसैगरी, अन्तरा ब्यान्ड, दिपक लिम्बू, आनन्द कार्की, कुन्ति मोक्तान, देविका बन्दना, सुवानी मोक्तान लगायत कलाकारहरू आउँदैछन्।
कन्सर्टमा गायकहरूले एउटा प्रस्तुति दिनेछन्।
यसरी सुरू हुने कार्यक्रम साढे ७ बजेसम्म हुने बोर्डका अध्यक्ष डिसीले बताए।
त्यसैगरी साढे ७ बजेदेखि भने अतिशबाजी गरिने र कार्यक्रम समापन गरिने उनले बताए।