प्रमोद लामिछानेको निर्माण रहेको डकुमेन्ट्री (वृत्तचित्र) 'द अनसाइलेन्स्ड' लाई नेपालमा प्रिमियर गरिने भएको छ।
आगामी ६ अक्टोबर अर्थात असोज २० गते काठमाडौंको सीटीसी मलस्थित सीडीसी सिनेमाजमा प्रदर्शन गर्न लागिएको हो।
टोसित घटानेद्वारा निर्देशित डकुमेन्ट्रीमा चार नेपाली महिलाहरुको संघर्षको कथा समेटिएको छ। यसमा माया भण्डारी, राधा श्रेष्ठ, सुन्दरी मिश्र र सगुन रसाईलीले अभिनय गरेका छन्। उनीहरुको सामाजिक मान्यताहरूसँगको चुनौतीपूर्ण यात्रा र जीवनको पुनःनिर्माणका अनुभवलाई चित्रण गरिएको छ।
वेन फिल्म्स प्रा. लि. को विशेष प्रस्तुति रहेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेको हो। एक घण्टा नौ मिनेट लामो डकुमेन्ट्री वास्तविक कथाहरूबाट प्रेरित रहेको जनाइएको छ। काठमाडौंमा प्रदर्शनको लागि टिकट बिक्री खुला गरिएको छ।
नेपालपछि यो डकुमेन्ट्रीको अन्तर्राष्ट्रिय प्रिमियर हुनेछ।
यस डकुमेन्ट्रीले यसअघि थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा सहभागीसहित अवार्डहरू जितिसकेको छ।