नवीन सुब्बा निर्देशित फिल्म 'गाउँ आएको बाटो' लाई हङकङमा विशेष प्रदर्शन गरिने भएको छ।
फिल्म २० अक्टोबरमा गोल्डेन सिन सिनेमामा प्रदर्शन गरिने भएको हो। निर्माता अमोद राईले हङकङको गोल्डेन सिन सिनेमाले पहिलोपटक नेपाली फिल्मको वितरण अधिकार किनेको बताए।
'गोल्डेन सिन सिनेमाकै हलमा फिल्म प्रदर्शन गर्न लागिएको हो,' उनले भने, 'यो फिल्म हङकङवासीका लागि विशेष छ। नेपालको फिल्ममेकिङ इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो फिल्ममा संलग्न भएर काम गरेका छन्।'
फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसन राई शीर्ष भूमिकामा छन्। केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको पनि अभिनय छ।
फिल्ममा सम्पादन ताइवानका क्वान पुन लुङ र संगीत हङकङकी संगीतकार हाइडी लीले गरेकी हुन्।
हङकङमा रहेका देवराज राई कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्माताका रूपमा हङकङबाट अरुण राई, मातृदिप राई, रामली राई, सुमन वोनेम, मायादेवी राईलगायत रहेका छन्।
फिल्मलाई यसअघि क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बई, स्विडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत महोत्सवमा प्रदर्शन गरिएको थियो।
फिल्मको छायांकन अमेरिकी छायाँकार जोस हेरमले गरेका हुन्।