सामाजिक सञ्जालमा चर्चित 'मुभी लभर्स ग्रुप' ले फिल्म 'आँखा' को विशेष प्रदर्शन गर्ने भएको छ।
असोज ११ देखि प्रदर्शनमा आउन लागेको फिल्मको ८ गते मंगलबार विशेष प्रदर्शन गर्न लागिएको हो। बेलुकी ५ बजे सुन्धारास्थित सिडीसी सिनेमामा फिल्म प्रदर्शन हुनेछ।
जौन योञ्जनको निर्माण र निर्देशनमा बनेको 'आँखा' ले सहरी गरिब र सुकुम्बासीको कथा बोकेको छ।
'मुभी लभर्स कम्युनिटी' ले स्थापनाको दसौं वार्षिकोत्सवको अवसर पारेर यो फिल्म विशेष प्रदर्शन गर्न लागेको हो।
मूलधारभन्दा फरक फिल्मलाई आम दर्शकसामु पुर्याउन र त्यसमा बहस गर्न विशेष प्रदर्शन गर्न थालिएको कम्युनिटीले जनाएको छ।
'राम्रा नेपाली फिल्मलाई माया गरौं भन्ने हाम्रो आवाजलाई थप बल दिन यो स्क्रिनिङ गर्न लागेका हौं,' कम्युनिटीले आफ्नो पोस्टमा भनेको छ, 'हाम्रो दसौं वार्षिकोत्सवलाई ‘आँखा’संगै मिलेर मनाउँदै छौं। हाम्रा लागि यो ठूलो सफलता र गौरवको कुरा हो।'
यो फिल्ममा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारी लगायत कलाकारहरूको अभिनय छ।
निर्देशक योन्जन भन्छन्, 'यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको दुःख र बाँच्नका लागि मानिसहरूले गर्ने सङ्घर्षको मार्मिक दृष्टिकोण हो ।' दुःख पनि एक्लोपन जत्तिकै भयानक र त्रासद हुन्छ भनेर दर्शाउन ‘आँखा’ को रमाइलो कथा तयार गरिएको उनले बताए।
'मुभी लभर्स कम्युनिटी' ले यसअघि ‘ऐना झ्यालको पुतली, हल्कारा, आचार्य, डाकिनी, म अलप हुन चाहन्छु’ लगायतका फिल्म र वृत्तचित्र विशेष प्रदर्शन गरिसकेको छ।