चर्चित फिल्म श्रृंखला 'छक्का पञ्जा' र रियालिटी शो 'कमेडी च्याम्पियन' का कलाकारहरू एउटै मञ्चमा उपस्थित भएर प्रस्तुति दिने भएका छन्। उनीहरूले एकअर्काको टिमलाई पालैपालो रोस्ट गर्नेछन्।
कार्यक्रम हो, रोस्टिङ ब्याटल।
दसैंको पूर्वसन्ध्यामा असोज २० गते राष्ट्रिय नाचघर जमलमा 'द बिगेष्ट रोस्टिङ ब्याटल' हुने तय भएको छ। यो कार्यक्रमलाई कमेडी च्याम्पियनले आयोजना गरेको हो।
प्रदर्शनको तयारीमा रहेको फिल्म 'छक्का पञ्जा ५' को प्रचारमा सहयोग पुर्याउने उद्धेश्यले यो कार्यक्रम हुन लागेको हो।
यसमा फिल्मका कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र वर्षा शिवाकोटी लगायत हुनेछन्। त्यस्तै, कमेडी च्याम्पियनका भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, मेक्सम गौडेल, कैलाश कार्की, सन्तोष थापा, सजन श्रेष्ठ, प्रभात लामा, सुनील खड्का र ऋषभ काफ्ले रहनेछन्।
कार्यक्रममा पहिला कमेडी च्याम्पियनका कलाकारहरूले छक्का पञ्जाको टिमलाई रोस्ट गर्नेछन्। त्यसपछि फिल्मका कलाकारहरूले कमेडी च्याम्पियनका कलाकारहरूलाई रोस्ट गर्नेछन्।
'छक्का पञ्जा टिमसँग संगै एउटा कार्यक्रम गरौं भन्ने योजना थियो। त्यसक्रममा नेपालमा अहिलेसम्म नभएको तर बाहिर लोकप्रिय रहेको रोस्टिङ ब्याटल गर्ने प्रस्तावलाई उहाँहरूले स्वीकानुभएपछि कार्यक्रम हुन लागेको हो,' आयोजक एवं कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले भने।
कार्यक्रममा दर्शकका लागि पाँच सयदेखि १५०० रूपैयाँसम्मको टिकट दर राखिएको छ। कार्यक्रम बेलुका ५ बजेपछि सुरू हुने जनाइएको छ। साढे ३ घण्टा कार्यक्रम हुनेछ।
कार्यक्रम टेलिभिजन र युट्युबमा लाइभ प्रसारण हुने कमेडी च्याम्पियनका निर्देशक भण्डारीले बताए। आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।
'छक्का पञ्जा ५’ असोज २४ गते रिलिज हुँदै छ। फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्।