संविधान दिवसको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म 'खुस्मा' ले सुखद् सुरूवात गरेको छ। पहिलो दिन बिहानी शोबाटै दर्शकको उपस्थिति उत्साहजनक देखिएको निर्माण टिमले जनाएको छ।
दिउँसोका अधिकांश शो हाउसफुल भएको वितरक गोविन्द शाहीले बताए।
फिल्मले राम्रो सुरूवात गरेसँगै केही हलले साँझ र रातिका शो समेत बृद्धि गरेको समेत उनको दाबी छ।
काठमाडौंसहित पोखरा, बुटवल, नेपालगञ्ज, धरान, विर्तामोड जस्ता सहरहरूका हलमा पनि पहिलो दिन दर्शकको उपस्थिति सुखद् रहेको वितरक शाहीले बताए।
'हिजो देशभर राम्रो रह्यो। 'वर्ड अफ माउथ' पनि एकदमै बलियो छ। यसकारण आउँदा दिनमा पनि फिल्मले राम्रो गर्ने देखिएको छ,' उनले भने।
फिल्मका अभिनेता धिरज मगर, अभिनेत्री उपासना सिंह ठकुरी, निर्देशक अशोक थापा मगर लगायतको टिम बिहीबार दिनभर काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए। त्यसक्रममा कलाकारसँग तस्बिर खिचाउन दर्शकको तछाडमछाड देखिएको थियो।
पहिलो दिन फिल्मलाई दर्शकबाट मिलेको साथ र पाएको प्रतिक्रियाले खुसी लागेको धिरज र उपासनाले बताए। उनीहरूले दर्शकलाई धन्यवाद समेत दिए।
लेखक तथा निर्देशक अशोक थापा मगरले सबैबाट सकारात्मक प्रतिक्रिया पाउँदा खुसी लागेको बताए।
'हलवालासँग पनि कुरा गरेका थियौं, त्यसक्रममा नेपाली फिल्ममा दर्शकको यो चाप उत्साहजनक रहेको प्रतिक्रिया पायौं,' उनले भने, 'दर्शकहरूले पनि रूवायो भन्ने खालको प्रतिक्रिया दिनुभएको छ। सिक्वेल पनि बनाउनुपर्यो भन्ने खालको प्रतिक्रिया समेत पायौं। यही हाम्रो सफलता हो भन्ने लाग्छ।'
शुक्रबार सन्तोषजनक रहेको दर्शकको उपस्थिति शनिबार फेरि बढ्ने अपेक्षा रहेको बताए।
यो फिल्म मगर समुदायको परिवेशमा निर्माण भएको हो। जनयुद्धको प्रभावकाबीच अंकुराएको एक जोडीको प्रेमलाई फिल्मको पर्दामा देखाइएको छ।
धिरज र उपासनासहित माओत्से गुरूङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरूण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायत कलाकारहरूले फिल्ममा अभिनय गरेका छन्।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन्।
फिल्मको गीत 'रूकुम मैकोट' केही समययता चर्चामा छ।