पछिल्लो सुपरहिट फिल्म 'पूर्णबहादुरको सारंगी' ले आक्रामक व्यापार गरिरहेको छ।
विजय बराल अभिनीत यो फिल्मले प्रदर्शनको १० दिनमा १७ करोड ९८ लाख रूपैयाँ कमाइ गरेको छ।
निर्माण पक्षले आइतबार बेलुका शनिबारसम्मको कमाइ सार्वजनिक गरेको हो। यो फिल्मले कीर्तिमान समेत कायम गरेको छ।
रच्यो एकैदिन सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान
यो फिल्मले एकैदिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान रचेको छ। फिल्मले शनिबार एकैदिन ३ करोड ८९ लाख रूपैयाँ कमाएको हो।
अहिलेसम्म एकैदिनमा कुनै नेपाली फिल्मले यति धेरै कमाएका थिएनन्। फिल्मले शुक्रबार २ करोड ९९ लाख रूपैयाँ कमाएको थियो।
अहिलेसम्मकै सर्वाधिक शो पाउने नेपाली फिल्म
'पूर्णबहादुरको सारंगी' ले अहिलेसम्मकै सर्वाधिक शो पाउने नेपाली फिल्मको समेत कीर्तिमान बनाएको छ।
फिल्मले शनिबार देशभर ४ सय ६५ बढी शो पाएको निर्माण संस्था सेभेन सिजले जनाएको छ। आइतबार पनि फिल्मको शो सोही आसपास थियो।
यसअघि 'बेहुली फ्रम मेघौली' ले देशभरि ३ सय ३५ शो पाएर कीर्तिमान बनाएको थियो। सो कीर्तिमान छोटो समयभित्र 'पूर्णबहादुरको सारंगी' ले तोडेको हो।
दर्शकको मागलाई मध्यनजर गर्दै कतिपय हलहरुले मध्यरातमा पनि फिल्म चलाएका छन्।
फिल्मको व्यापारको रफ्तार हेर्दा यसले नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइको रेकर्ड राख्ने सक्ने अनुमान छ।
'पूर्णबहादुरको सारंगी' सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको हो।
फिल्ममा विजय बराल, प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकारहरूको अभिनय छ। फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्।
विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मका निर्माता हुन्।