नेपाली फिल्म 'सोल्टिनी' को लागि कलाकारहरूको लाइनअप पूरा भएको निर्माण टिमले जनाएको छ।
नेपाली फिल्मका चर्चित कलाकारहरूले यसमा काम गर्दैछन्।
निर्देशक अर्जुन सुवेदीका अनुसार फिल्ममा अभिनेताहरू प्रकाश सपुत र विल्सन विक्रम राई तथा अभिनेत्री परीक्षा लिम्बुको प्रमुख अभिनय रहनेछ। साथमा रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडा लगायतको पनि अभिनय रहने भएको छ। साथै, यस फिल्ममा अडिसनमार्फत छनौट भएकी सब्बु गुरूङले पनि प्रमुख भूमिका निभाउनेछिन्।
फिल्मको घोषणा गर्दै प्रकाश सपुतले 'भीमसेन पोखरेल' र परीक्षा लिम्बुले 'दिलासा राई' को भूमिका निर्वाह गर्ने बताइएको थियो। यसमा उनीहरूको पहिलो पटक सहकार्य हुन लागेको हो।
भोजपुरमा छायांकन गर्नै तयारी रहेको फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने बताइएको छ। साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहने जनाइएको छ।
फिल्ममा संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको रहनेछ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्मको निर्माताहरू रेजिना बिष्ट र संसार चौलागाईँ हुन्। फिल्म सुशन प्रजापतिले छायांकन गर्नेछन्।
आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन्।