फिल्म 'कल्ली' को छायांकन सुरू भएको छ।
आइतबार काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट फिल्मको छायांकन सुरू गरिएको हो।
पहिलो दिन अभिनेताद्वय नाजिर हुसेन र उत्तम प्रधान तथा अभिनेत्री वर्षा राउत लगायतको दृश्य खिचियो।
फिल्मको छायांकन केही दिन काठमाडौंमा गरिनेछ भने त्यसपछि बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान गर्नेछ।
छायांकन सेड्यूल ३५ दिन तय छ।
लक्ष्मण सुनारको निर्देशनमा यो फिल्म बन्न लागेको हो। लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी रहनेछ। महेश दवाडीको लेखन रहेको यो फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन्।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरूको अभिनय रहनेछ।
फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्। निसाल पौडेलले यो फिल्मको छायांकन गर्नेछन्।
वर्षौपछि फिल्ममा काम गर्दा एकदमै खुसी लागेको अभिनेता उत्तम प्रधानले बताए।
उनी यो फिल्मको छायांकनका लागि शुक्रबार भारतको सिक्किमबाट नेपाल आएका थिए। छायांकन सुरू भएसँगै उनले फिल्मको कथावस्तु आफूलाई निकै मन परेको सुुनाए।
'यसअघि गरेका फिल्मको भन्दा भिन्न भूमिका रहेकाले काम गर्न लागेको हुँ। मलाई यो बीचमा थुप्रै फिल्मबाट अफर पनि आएको हो। तर, आफ्नो भूमिका नै चित्त नवुझेका कारण मैले फिल्ममा काम गरिनँ,' प्रधानले भने।
अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउतले आफूहरु श्रीमान–श्रीमतीको भूमिकामा देखिन लागेको बताए।
