फिल्म 'महाभोज' यही महिना रिलिज हुने भएको छ।
विशेष परिस्थितिका कारण पूर्वनिर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको फिल्म अब यही जेठ ३० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो।
निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग क्षमा मागेको छ। यसै सन्दर्भमा, फिल्मका निर्देशक दिनेश राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार प्रकट गरेका छन्।
निर्धारित मितिमा रिलिज गर्न नसक्दा यसबाट दर्शकहरूप्रति असहजता सिर्जना भएकोमा क्षमाप्रार्थी रहेको बताउँदै निर्देशक राउतले भने, 'अब फिल्म जेठ ३० गते रिलिज हुँदैछ। यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौं। त्यसैले यही मितिमा नजिकको हलमा ‘महाभोज’ हेर्न नबिर्सिनु होला।'
केही दिनअघि यो फिल्मको काठमाडौंमा प्रिभ्यु शो आयोजना भएको थियो, जहाँ फिल्म हेरेका दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए। यसमा सहकारी पीडितको कथा मात्र नभएर अत्यन्तै मनोरञ्जक समेत रहेको प्रतिक्रिया उक्त शोबाट प्राप्त भएको थियो।
फिल्म 'महाभोज' मा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरूङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायत कलाकारहरूको प्रमुख अभिनय छ। क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको फिल्मका निर्माता हिमाल कडरिया हुन्।