दीपक रौनियारको निर्देशनमा बनेको नेपाली फिल्म 'राजागञ्ज' (पूजा, सर) फ्रान्सका ६२ वटा सिनेमा घरमा एकसाथ रिलिज भएको छ।
अन्तर्राष्ट्रिय फिल्मको केन्द्र मानिने फ्रान्समा यति ठूलो संख्यामा नेपाली फिल्म रिलिज भएको पहिलो पटक हो।
फ्रान्सेली वितरण कम्पनीकी मिशेल हाल्बस्र्टाडले यसबारे भनेकी छन्, 'पूजा, सर एउटा यस्तो फिल्म हो जसले हामीलाई यसको रहस्य, संस्कृति र दृश्यहरूमा सिधै लैजान्छ। यस अर्थमा, यो अप्रत्याशित र आकर्षक छ। हामी फ्रान्सका दर्शकहरूलाई यो फिल्म प्रस्तुत गर्न पाउँदा खुसी छौं।'
यो फिल्मलाई फ्रान्सेली मिडियाले प्रशंसा गरेका छन्। फिल्मले स्विजरल्याण्डमा पनि सफलता पाएको छ। मे महिनादेखि प्रदर्शनमा आएको फिल्म तीन महिना बितिसक्दा पनि अझै ५ वटा सहरहरूमा चलिरहेको जनाइएको छ।
फिल्मको अस्ट्रेलिया र न्युजिल्याण्ड वितरण अधिकार पनि बिक्री भएको छ। निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार यही हप्ता मेलबर्नस्थित स्क्रिनएक्सकोपसँग वितरण सम्झौता भएको हो। त्यसका वितरकले भनेका छन्, 'निर्देशक दीपक रौनियारको सबै तिर प्रशंसित फिल्म 'पूजा, सर' लाई हाम्रो २०२५ वितरण सूचीमा स्वागत गर्न पाउँदा हामी उत्साहित छौं।'
फिल्मको ब्याकग्राउण्ड स्कोर (साउण्ड ट्रयाक) २ सय ४३ देशमा रिलिज गरिएको जनाइएको छ। यसको वितरण हङकङ र लण्डन कार्यालय भएको 'प्लाजा मेयर कम्पनी' ले अर्काड–सोनी म्युजिकको प्लाटफर्मबाट गरेको विज्ञप्तीमा उल्लेख छ। ब्याकग्राउण्ड स्कोरस्पोटिफाई, अमेजन प्राईम, युट्युब आदि प्लेटफर्महरूमा रिलिज भएको जनाइएको छ।
फिल्म 'पूजा, सर' मा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मंडल, घनश्याम मिश्रा, ऋचा शर्मा, गौमाया गुरूङलगायत कलाकारहरूको अभिनय छ। निर्माणमा आदी फिल्मस् (दीपक र आशा), बाँसुरी फिल्मस् (रामबाबु गुरूङ) र नर्वेको ट्यानहाउजरको सहकार्य छ।
फिल्मको वर्ल्ड प्रिमियर सन् २०२४ को भेनिस फिल्म फेस्टिभलमा भएको थियो। त्यसयता बुसान, सिड्नी, टालिन बाल्क नाईट्स, गोथेनबर्ग लगायतका महोत्सवहरूमा प्रदर्शन भइसकेको छ।
फिल्मलाई बेलायतको च्यानल फोले खरिद गरिसकेको छ। नोभेम्बर २०२५ देखि फिल्म एयरलाइन्सहरूमा पनि रिलिज हुँदैछ, जसको वितरण अमेरिकी कम्पनी पेनी ब्ल्याक मिडियाले गर्दैछ।