क्याप्टेन रामेश्वर थापाको बायोपिक फिल्म 'क्याप्टेन साब' को छायांकन सुरू गरिएको छ। शनिबार काभ्रेपलाञ्चोकको बेथानचोकबाट छायांकन सुरू भएको हो।
काभ्रेपलाञ्चोकसहित काठमाडौं, चितवन र वीरगञ्जमा फिल्म खिचिनेछ।
दीपेन्द्र के. खनालको निर्देशनमा बन्ने यो फिल्म कृष्णबहादुर थापाले छायांकन गर्दैछन्। फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन्। दीपेन्द्रले यसअघि 'धनपति' मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए। त्यसयता यी तीनजनाले दोस्रोपटक सहकार्य गरेका हुन्। दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन्।
छायाकंन सुरूआत भएसँगै निर्देशक खनालले 'क्याप्टेन साब' एक फरक खालको फिल्म निर्माण हुन लागिरहेको बता । क्याप्टेन थापाको संस्मरणात्मक कृति 'इन्टो द फायर' (बारूदमाथि उड्दा)मा आधारित भए पनि उनको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर पूर्ण मनोरञ्जनात्मक फिल्म बनाइने उनको भनाइ छ।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन्। कार्यकारी निर्मातामा सिर्जना नापित छिन्।
निर्देशक दीपेन्द्र के खनालकै लेखन रहेको फिल्ममा सौगात बस्नेत मुख्य सहायक निर्देशक, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, एकी थेक्पा प्रोडक्सन डिजाइर, रोहित राज गौतम र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन्।