धेरै अपेक्षा लिएर नजानुहोला, नाटक अपेक्षाअनुरूप छैन।
यसो भन्दैमा मण्डला नाटकघरमा बित्ने एक घण्टा पट्यारलाग्दो भने हुँदैन। नाटक रमाइलो छ। अपेक्षाको कुरा किन गरेको हुँ भने नाटकले बोल्न खोजेको कुरा देखाउने प्रयत्न गरेको छ, सफल भने छैन।
म कुरा गर्दैछु नाटक ‘मसानटार’को। मण्डला थिएटर पुगेर ब्रोसर समाएँ र पढ्न थालेँ। नाटकबारे यस्तो लेखिएको रहेछ- मसानटार अन्धविश्वास र आधुनिक सोचबीचको लडाइँ हो। यथास्थितिवादी र प्रगतिवादीबीचको द्वन्द्व हो।
ब्रोसरमा यो नलेखिएको भए म अपेक्षा गर्ने थिइनँ।
‘द्वन्द्व’ देखाउने धेरै तरिका हुन्छन्। नाटकका पात्र कहिले समाजका विभिन्न पक्षसँग द्वन्द्वमा हुन्छन् त कहिले आफूभित्रको मान्छेसँग। नाटकमा प्रायः दुवै प्रयोग हुन्छन्। र, यी दुई पक्षबीचको लडाइँ देखाउँदा त्यो सोच बोक्ने पात्रबीचको द्वन्द्व संवाद वा दृश्यमा बलियोसँग आउनुपर्छ। पात्रले कि घटनामार्फत कि संवादमार्फत दुवै पक्षमा वकालत गर्नुपर्छ, छुट्याउने जिम्मा दर्शकको। गरूँ कि नगरूँ¸ पत्याउँ कि नपत्याउँ¸ मानु कि नमानुँ यस्तो दुविधा पात्र र दर्शकमा एकैपल्ट देखिनुपर्छ।
यो मैले बुझेको कुरा हो। मसानटार नाटकबारेमा यही धार समातेर कुरा गर्दैछु, गलत पनि हुन सक्छु।
सामाजिक विसंगति उजागर गर्ने नाटकको प्रयास कमजोर भन्न मिल्दैन। विषय अर्ग्यानिक हो। धामीझाँक्री लगाउने परम्परा अहिले पनि सकिइसकेको छैन। नाटकले गाँउमा हुने डर र डराउने पात्र छनौट गरेको पनि छ। कसरी विविध संयोगहरू मसान बनेर मानिसको दिमागमा डर भएर पस्छन् भन्ने पनि देखाउँछ। यही जमर्को जति सशक्त हुन सक्थ्यो त्यति हुन सकेको भने छैन। धेरै पात्रकाबीचमा कथावस्तु अल्मलिएकाले सीमित भएको छ।
नाटकले एक गाउँ कल्पना गरेको छ जहाँ अन्धविश्वास व्याप्त छ। मान्छेहरु मसानसँग डराएका छन् र ठाउँ छोड्दै हिँड्दै छन्। मसानसँग लड्न सक्ने धामी पनि गाउँबाट हराएकाले त्यो डर झनै फैलिएको छ। त्यस्तैमा एक पात्र सहरबाट आउँछ र गाउँमै बस्नुपर्छ भन्ने सन्देश बाँड्न थाल्छ। यो ‘वान लाइन स्टोरी’ पनि कमजोर लाग्दैन। हामीले अहिले भोग्दै गरेको एउटा पाटो हो यो, अस्वभाविक हैन। त्यो अन्धविश्वास गाउँमा कसरी जकडिएको छ भन्ने देखाउनु वास्तवमै चुनौतिपूर्ण काम हो।
छनौट गरिएका पात्र हेर्दा त्यो चुनौती असम्भव भने थिएन। अन्धविश्वास विरुद्ध बन्द भएको स्कुल खोल्ने रूपकको प्रयत्न र त्यो प्रयत्नमा साथ दिउँ कि नदिउँ भएर उभिएका स्थानीय। यो संयोजन छनौट विषयगत हिसाबमा सान्दर्भिक देखिन्छ किनकि जहाँ शिक्षा कमजोर हुन्छ त्यहाँ अन्धविश्वासले जरो गाडेको हुन्छ। तर गाँउमा स्कुल खोल्ने रुपकको प्रयत्नमा के के कुरा अबरोध बन्छन् भन्नेमा नाटक केन्द्रित हुन सकेको छैन।
यसका धेरै कारण छन्। पहिलो पात्रगत विविधता। पात्रहरू अचम्मै किसिमले छरिएका छन्। नाटक कसको कथा हो र किन हो भन्ने प्रस्ट देखिँदैन। रूपक किन गाउँबाट सहर आयो? उसलाई के कुरा बिज्यो र फर्कियो?
नाटकले कतै पनि भन्दैन। उसलाई गाउँमा आएर बन्द भएको स्कुल खोल्ने प्रयत्न थाल्दा के कठिनाइ आए, त्यो विस्तृतमा पनि नाटक जाँदैन। बरु केही मान्छे बसेर रक्सी खाएका लम्बेतान दृश्यहरूमा अल्मलिन्छ। एक केटीले छोडेर घायल भएको कुनै पात्र स्थापित गर्न लागि पर्छ। उनीहरूबीको झगडा देखाउने प्रयास गर्छ। सामाजिक जड पात्रहरूको झगडाले हैन उनीहरूको सोचले देखाइनुपर्थ्यो। नाटक त्यसमै चुकेको छ।
मलाई लाग्छ यो नाटक शारीरिक संघर्ष भन्दा पनि मनोवैज्ञानिक संघर्षमा जानुपर्थ्यो। मान्छे मनका दुई कुनामा बसेका मसान साँच्चै छ कि छैन? भन्ने प्रश्न खोतल्न सक्नुपर्थ्यो।
खच्चर धपाउने युवक मसानले तर्साएर थाल ठटाउन खोजेको दृश्यमा त्यो छनक थोरै त छ तर, त्यसलाई त्योभन्दा पछिल्लो दृश्यले कमजोर पार्छ। पसलेले ‘थाल ठटाउने भूत आएको थियो’ भन्दा उक्त युवकले ‘मसानको डरले थाल त मैले ठटाएको हुँ’ भन्दा दुई तहको मानसिक डर एउटै संवादमा देखिएका थिए। त्यो घटनापछि पसले पात्रले आफैंलाई प्रश्न गरिदिएको भए र ऊ रूपकलाई थोरै साथ दिन तयार हुन सकेको भए नाटकको दृश्य अर्कै हुन सक्थ्यो।
नाटकका दृश्य कतै बलियोबाट कमजोर भएका छन् भने कतै कमजोरबाट बलियो।
बहिनी बिरामी भएपछि उसको उपचारका लागि डाक्टर लिन रूपक दौडिएको दृश्य बलियो छ। ऊ जति अगाडि गइरहन्छ, त्यति पछाडिबाट सामाजिक जड र अन्धविश्वास ऊसँगै दौडिएको दृश्यले विशेष अर्थ राख्छ। ऊ बेलाबेला एकाध पात्रको बीचमा पनि छिर्छ। अर्थात् ऊ जुन माहोलमा संघर्ष गर्दैछ, त्यसमा आफैं पनि मिसिएको छ। उसको सोचाइमा दुविधा नभएपनि ऊ बसेको समाजको दुविधामा अल्मलिएको छ भन्ने सन्देश उक्त दृश्यले दिन्छ। त्यो शक्तिशाली दृश्य हो।
नाटकलाई बनावटी हुनबाट कथाले नभएर कलाकारले जोगाएका छन्। सबै कलाकारको ऊर्जा र मिहेनत हेर्न लायक छ। तर मलाई कथाको बलमा नै कलाकारले नाटक उकास्छन् भन्ने विश्वास लाग्छ।
नाटकको अन्त्य पनि कमजोर र बलियो दुवै छ। कमजोर किन भने भिरबाट लडेर अचेत भएको दृश्य देखाउँदा रूपक पात्र स्याँस्याँ गरिरहेको हुन्छ। त्यसभन्दा पहिला दौडिएको दृश्य भएकाले पनि हुन सक्छ। तर त्यसबेला ऊ अचेत र लगभग मृत अवस्थामा पुगिसकेको देखाइएको छ। उसको वरपरका सबैले ‘राम्रो मानिस’ थियो भन्दै कुरा गर्छन्। त्यो अवस्थामा त्यसरी सास फेरिएको दृश्य अलिक सान्दर्भिक लाग्दैन। रूपकलाई अर्कै 'पोजिसन' मा देखाउन सकिन्थ्यो जहाँ सास फेरेको दृश्य लुक्थ्यो।
बलियो किन भने, नाटकले भन्न खोजेको कुरा यहीँ आएर बुझिन्छ। हाम्रो समाज कसरी मसानटार हुँदै गइरहेको छ, कसरी नेताहरू मसानको डर देखाउँदै झाँक्री बनिरहेका छन्, कसरी दैनिक बाहिरिने युवाको कारण गाउँ खाली हुँदैछ। कसरी गाउँ बनाउनुपर्छ भनेर फर्किएको एक युवक त्यही गाँउको अन्धविश्वासमा रूमलिन्छ। र, कसरी समाज परिवर्तन कठिन भइरहेको छ?
मसानटार कमजोरीबाट अछुतो नभएको नाटक हो। तर,यसले पक्कै पनि एकपल्ट यसको कथा विषयमा सोच्न भने बाध्य बनाउँछ।
तस्बिरहरू: सिमोन आत्रेय