' ॐ माने पेमे हुँ . . .’
रंगमञ्च बाहिरसम्मै गीत गुञ्जिरहेको छ।
यस्तो लाग्छ रंगीविरगीं ध्वजाहरुले नाटक हेर्ने दर्शकहरूको ‘मुड’ बनाइरहेका छन्!
तर, तिब्बती शरणार्थीमा केन्द्रित नाटकको यो ‘मुड’ कति बेर टिक्छ भन्ने प्रश्न गहन हो!
यो शिल्पी नाटकघरमा मञ्चन भइरहेको नाटक ‘कोरा’ को कुरा हो । रंगकर्मी लूनिभा तुलाधरको निर्देशनमा बनेको नाटकले तेञ्जिङ सुण्डुको कविता कृति कोराको ४ कवितालाई प्रस्तुत गर्ने प्रयास गरेको छ।
होराइजन (क्षितिज), रिफ्युजी (शरनार्थी), दि तब्बतियन इन मुम्बई (मुम्बईमा तिब्बती) र एग्जाइल हाउस (निर्वासन घर) कविताको सेरोफेरोमा नाटक घुम्छ।
देश छाड्नुको गह्रुगों भारी बोकेर पराई भूमिमा संघर्षरत: थुप्रै शरणार्थीको कथा यसले भन्छ। नेपाल अनि भारतमा विस्थापित भई अनागरिक भइरहनु उनीहरूका लागि कति भारी होला?
निधारमै लेखिएको शरनार्थीको ‘श’ ले उनीहरुलाई कति सताउँला? पीडा, डर, छटपट्टि अनि घर फर्कने आशाको त्यान्द्रोमा जेलिएको जीवनको भोगाई कस्तो होला?
यस्ता यावत प्रश्नको उत्तर बताउने फिल्म अनि नाटक पछिल्लो समय धेरै बनेका छन्।
तर कवितालाई नाटकमा ढालेर नविनत्तम साहस गर्न चाहेकी तुलाधरले शरणार्थीहरुले भोग्नुपर्ने पीडाको ‘ह्यागं’लाई धेरै बेर टिकाउँन सक्दिनन्।
४ वटा कविताले शरणार्थीका चार जीवनका आयामहरुलाई बुझाएका छन्।
समग्रमा शरणार्थीहरुको जीवनशैली, संघर्षपूर्ण यात्रा अनि विस्थापनको पीडा बोल्ने कथाहरु दर्शकको मनसम्म कसरी पुग्छन? भन्ने हो।
गम्भीर विषयवस्तु उठान गरेको नाटकले मञ्चबाट छुट्टिए पश्चात पनि दर्शकको मनमा गम्भीरता बनाइरहनुपर्ने हो। नाटक अवधिभरी पनि त्यो गम्भिरता टिक्दैन।
नाटकको मुख्य कम्जोरी प्रस्तुतिमा नै छ। एक पछि अर्को घटना यति छिटो सुरु भइदिन्छ कि मुख्य विषयवस्तु नै ओझेलमा पर्छ।
फेरी बीचबीचमा जोडिने सस्तो मनोरञ्जनले दर्शकको मनोभावना नै विथोलिदिन्छ। जब जब दर्शकहरु गम्भीर विषयतिर केन्द्रित हुन्छन्, त्यो गम्भीरतामा ‘कमेडी’ हाबी भएर अवरोध गरिहाल्छन्।
संघर्ष र त्राहित्राहि सम्झाउँने शरणार्थीको जीवनको कथा बीच ‘कमेडी’ले कहाँबाट छुट्नु हासोँको फोहरा!
सबैभन्दा उदेक त त्यतिबेला लाग्छ जब भेडाको ‘प्रप्स’मा आएका रंगकर्मीहरु मान्छे जसरी हिडँछन र संवाद गर्छन्। नाटकले त हासाँउदैन यस्तै यावत कुराहरुले हासोँ उठ्छ।
नाटकमा नै दर्शकलाई एक ठाउँबाट अर्को ठाउँ लग्ने खुबी हुन्छ। तर पृष्ठभूमीमा परिवर्तन हुने दृश्यमा दर्शक भर पर्नुपर्ने हुन्छ। नाटक विभिन्न ठाउँ पुग्छ, दर्शक पुग्न सक्दैनन्। झन् गञ्जागोल बनेको छ।
डेढ महिना मेहेनत गरेका भनिएका रंगकर्मीहरु शिल्पी नाटकघरका आठौं ब्याचका विधार्थीहरु हुन्। उनीहरुको मेहनत नाटकको गञ्जागोलमै हराउँछ।
नाटकको सबल पक्ष संगीत हो। ‘मेडिटेटिभ’ छन्। कथाहरु पनि प्रस्टाउछन्। ‘स्याडो लाइट’ मा कथा बताउने प्रयास गज्जबको छ। तर राम्रो रंगकर्मीको रुपमा पहिचान बनाएकी लूनिभाले नाटक निर्देशनको पाटोमा अझैं मेहेनत गर्न जरुरी छ।
जेठ ३१ गतेसम्म मञ्चन हुने नाटकमा निर्मल साउद, दिप्ती पौडेल, विपुल थापा, शर्मिला श्रोष्ठ, सुरज केसी तारानाथ चुपाईँ, विपिन केसी, सुदर्शन खत्री, विजय नेपाल लगायतको अभिनय देख्न सकिन्छ ।
(सम्पूर्ण तस्वीरहरू: नारायण महर्जन)