ठ्याक्कै मिति थाहा भएन। सम्झिन धेरै प्रयास गरेँ। प्रयास गर्नु सजिलो कुरा रहेछ, जसले पनि गर्छ। प्रयास गर्नु गाह्रो कुरा पनि रहेछ, निर्क्योल कमैले मात्रै निकाल्छन्।
आफैले पहिलो पटक सिनेमा हेरेको मिति सम्झिन पनि कति गाह्रो। करिब बाइस वर्ष अगाडिको एक साँझ। दिनभरि धुलाम्मे भएर उफ्रिएको थकान मेट्न, म बिनाकारण ममीलाई पिर्दै थिएँ। ममी पनि दिनभरि जीविकाको लागि गरिएको संघर्षको थकानलाई बिट मार्न मसँग रिसाएको अभिनय गर्दै हुनुहुन्थ्यो।
म पिरे जस्तो गर्थेँ। ममी रिसाए जस्तो गर्नुहुन्थ्यो। न मैले पिर्न छोडेँ, न ममी रिसाउन छोड्नु भयो। ममीको रिसलाई शान्त पार्न र मलाई फकाउन ममीको देवर, बुबाको माइलो भाइ अनि मेरो सान्दाइ, टुप्लुक्क आइपुग्नु भयो। उहाँले अनायासै मलाई सम्हालेर भन्नुभयो, ‘ल चुप लाग, भोलि शनिबार तँ र म बिहान फिल्म हेर्न जानी।'
हिउँद लाग्दै गरेको बिहान। साबिकको भन्दा सबेरै उठेर, कहिले नहेरेको जिनिस 'फिल्म' हेर्न, फुरफुर पर्दै सान्दाइको काँध माथि बसेर, एक ढाँक उखु टोक्दै, गेटमा उभिएको पालेलाई टिकट देखाएर, जगदम्बा चलचित्र मन्दिर नुवाकोटको अँध्यारो कोठाभित्र म पहिलोपटक छिरेँ।
'फिल्मको नाम धर्मसंकट', सान्दाइले मेरो कानमा फुसफुसाउनु भयो। एकैछिनमा बत्ती निभ्यो। सिठ्ठी बज्यो। भूत घर जस्तो अँध्यारो कोठाको अगाडि पट्टिको ठूलो सेतो भित्ता अचानक ड्याङ र डुङ्ग गर्दै उज्यालोमा परिणत हुन थाल्यो। र, एकैछिनमा म जस्तै, मेरा साथीहरू, ममी, बुबा, सान्दाइ जस्तै मान्छेहरु सल्बलाउन पो थाले। मलाई अचम्म, डर, र कौतुहल एकैपटक लाग्न थाल्यो।
एकैछिनमा मान्छे हाँस्छ। एकैछिनमा रुन्छ। एकैछिनमा मान्छे जन्मिन्छ। एकैछिनमा मर्छ। एकैछिनमा एउटा कपडा लगाउछ, फेरि एकैछिनमा अर्को। एकैछिनमा सयौँ पहलमान गुन्डाहरुलाई एउटै मान्छे (हिरो) ले चुट्कीमै पछारिदिन्छ।
ओहो, 'म त अर्कै लोकमा आएछु, भन्ने लागेर मनमनै डर लाग्यो। फेरि अरु मान्छे चै नडाराइकन, ताली र सिठ्ठी बजाउदै हेरेको देखेर केही होइन रहेछ भन्ने जस्तो लागेर मेरो बालशुलभ मस्तिष्कले मेरै मनलाई ढाडस दिएर भन्यो, 'नडरा।'
फिल्म हेरेर घर फर्किएपछि त्यो फिल्मको ह्याङ्ग ओभर मेरो मस्तिष्कमा धेरै समयसम्म रह्यो। गाउँका सबैलाई सुनाउदै हिड्थेँ। फिल्ममा एउटा पात्र थियो, 'चंखे।' त्यो चंखे जहिले पनि दुधको कुँडेबाट 'तर' चोरेर खान्थ्यो। त्यो थाहा पाएर उसकी आमाले डाडुले हान्थिन् क्यारे। मैले पनि त्यही चंखेको सिको गर्दै आफ्नो घर र ओल्लो-पल्लो घरको दुधमा लागेको कुँडेको 'तर' चोरेर धेरै खाएँ।
'दुधको तर' चोरेर खाँदा लाग्थ्यो, 'म पनि त्यही चंखे जस्तै भएँ।' विडम्बना, चंखेलाई जस्तो डाडुले मलाई कसैले पनि हानेनन्। कसैले नहानेको देखेर लाग्थ्यो, 'म चंखे होइन कि क्या हो?'
त्यसपछि लगत्तै मैले सिनेमा कहिले हेरेँ? मस्तिष्कको कुनै अँध्यारो पत्रमा जमेर बसेकोले मैले निकाल्न सकिनँ। तर त्यसपछि धेरै सिनेमाहरु हेरेँ।
सम्झिरहेछु, कुनै सिनेमा हेरेपछि त्यही सिनेमामा हिरोले उडेर गुन्डाहरुलाई हानेको देखेर, साथीहरुलाई कान्लामुनी उभिन लगाएको अनि आफू कान्ला माथिबाट हामफालेर साथीको जीउमा कसेर लात्तीले हानेको। फिल्ममा हिरोले हान्दा गुन्डा लडेको जसरी साथी नलडेको।
एकैछिनमा साथीले पनि मलाई त्यसैगरी हानेको। आफूलाई दुखेपछि कति बेस्सरी हानेको भनेर साथीसँग रिसाएको। रिसाएको एकैछिनमा फेरि हाँसेको।
सम्झिरहेछु, बुबा केही दिन घरमा नआउने गरी बाहिर जानु भएको बेलामा, ममीको आँखा छलेर दराजको साँचो झिकेको, दराजबाट बीस रुपैयाँ चोरेर निखिल उप्रेती, राजेश हमालका फिल्महरुको सिडी भाडामा लेराएको। ममीलाई फलानोको घरबाट मागेर लेराएको सिडी भनेर झुक्काएर रातभरि फिल्म हेरेको।
फिल्ममा हिरो मर्दा, हिरो रुदा आफू पनि सँगै रोएको र सिरकको खोलले आँखा पुछेको। भोलिपल्ट, पर्सिपल्ट बुबा नफर्किने दिनसम्म त्यही फिल्म पटक पटक दोर्याउदै हेरेको, र बुबा घर फर्किने बिहान सिडी पसलमा लगेर फिर्ता गर्दिएको। पसलेले ढिला लेराएको भनेर फाइन लाग्छ भनेको। म भागेको र पसलेले बुबालाई भनिदिन्छ कि भन्ने डरले निसासिएको।
सम्झिरहेछु, फिल्मका मासिक पत्रिकाहरु साथीको घरबाट चोरेको। फिल्मका सिडी गाउँगाउँबाट बटुलेर दिनैभरि फिल्म हेरेको। रेडियोमा फिल्मका गीत बज्दा, पारि डाँडातिर हेरेर कल्पना गरेको, 'आफू हिरो जसरी गीतमा हिडिरहेको, छेउमा स्कुलका कुनै राम्री केटी आफ्नो छेउमै आएर हिरोइनले जसरी लिप्सिङ दिएको।'
शनिबार दिउँसो २ बजे नेपाल टेलिभिजनबाट आउने फिल्म हेर्न, छिटोछिटो नुहाएर एन्टिना घुमाउदै बसेको। घरमा टेलिभिजन राख्न थालेदेखि मैले शनिबार दिउसो आउने फिल्म सायदै छुटाएँ।
आफैले बाँचेर आएको आफ्नै जीवनलाई पछाडि फर्केर हेर्न साह्रै कठिन हुने रहेछ। 'संसारको सबैभन्दा कठिन काम के हो?' भनेर कसैले सोधे, म ठाडै भन्दिने थिएँ, 'बाल्यकालका भोगाइहरु सम्झिन।' तर सत्य यो पनि हो, जहाँ कठिन छ त्यहाँ सौन्दर्य पनि छ। काँडाको बीचमा गुलाफ फुलेझैं। बाल्यकालका भोगाइहरु सम्झिन जति कठिन लाग्छ, सम्झिएपछि त्यति नै आनन्द पनि लाग्ने रहेछ।
मलाई हलमै गएर सिनेमा हेर्न साह्रै मन लाग्थ्यो, जसरी पहिलोपटक हलभित्र छिरेर हेरेको थिए। तर, म सानै भएकाले सिनेमा हेर्न फिल्म हल जान पाइदैन थियो। भागेर जान पैसा हुँदैन थियो। पैसाभन्दा पनि डर लाग्थ्यो। बुबाममीको फुर्सद नै हुँदैन थियो, सिनेमा हल लिएर जाने।
त्यसैले पहिलोपटक सान्दाइसँग हल भित्र छिरेर फिल्म हेरेको वर्षौंपछि मात्रै फिल्म हलमा गएर फिल्म हेरेँ। मेरो घरमाथि एकजना अग्रज दाइ हुनुहुन्थ्यो। उहाँ नयाँ सिनेमा हलमा चल्ने बित्तिकै गएर हेरिहाल्नु हुन्थ्यो। जब उहाँ नयाँ फिल्म हलमा गएर हरेर आउनुहुन्थ्यो तब म फिल्मको कथा सुन्न उहाँको पछि पछि लागीरहन्थेँ। उहाँ पनि मज्जाले फिल्मको कहानी सुरुदेखि अन्त्यसम्मै सुनाउनु हुन्थ्यो।
यसरी सुनाउनु हुन्थ्यो मानौँ कि म फिल्म नै हेरिरहेको छु। घर छेउको चुवाको रुख माथि बसेर उहाँले सुनाउनु भएको 'साथी' फिल्को कथा म अझै सम्झिन्छु। जुन सुनेर मेरा आँखा रसाएका थिए। उहाँले सुनाएका नयाँ फिल्मका कथा सुनेपछि त्यो फिल्म कहिले सिडीमा आउला र हेर्न पाइएला भनेर व्यग्र प्रतिक्षा गरिन्थ्यो। सिडीमा आउने बितिकै, गाउँका कसैले लेराएका छन् भने माग्यो नत्र घरको दराजबाट बीस रुपैयाँ चोर्यो, भाडामा लेरायो अनि हेर्यो।
सायद कक्षा ६ मा पढ्दै थिए, जतिबेला मैले पहिलोपटक सुटिङ् हेरेको थिएँ। त्यस दिन स्कुल बिदा थियो। म साह्रै खुसी थिएँ। खुसी थिएँ, स्कुल बिदा भएर होइन, घर छेउमै सुटिङ हुँदै छ रे भन्ने सुनेर। सुटिङ युनिट घरबाट केही पाइला पर आएर रोकियो। खाना खाने बेला भएको थियो। सधैँ सासुको पालोमा खाएर बुहारीको पालोमा उठ्ने म, त्यसदिन हतार हतारमा एक दुई गाँस मुखमा हालेर दौडिहालेँ। सासुले भन्दा पनि छिटो खाना खाएर हिडिहाले सुटिङ हेर्न।
सुटिङ युनिट लेखिएको सेतो गाडी, भ्यान अनि ठूला ठूला डोजर जस्ता क्रेन, ठेल गाडालाई जसरी धकेल्नु पर्ने ट्रली! ओहो सुटिङ त यस्तो पो हुँदो रहेछ। अचम्म लाग्यो। अचम्मभन्दा पनि रमाइलो लाग्यो। कालो चस्मा, सेतो टिसर्ट, जिन्सको प्यान्ट लगाएको हिरोसँग 'सुटुक्क सुटुक्क गासौँन माया' भन्दै एकदमै गोरी, टाइट जिन्सको प्यान्ट लगाएर लिप्सिङ दिइरहेकी हिरोइन देखेपछि म झनै यो रंगिन दुनियाँतिर आकर्षित भएँ।
सुटिङ हेरेपछि जान अन्जानमै मलाई महसुस भयो, 'एकजना क्यामेरा लिएर खिच्न बसेको छ, म्युजिक बजाउने उभिरहेको छ, हिरो हिरोइन तयारी भएर बसिरहेका छन् तर छेउमा सेतो ह्याट लगाएर टिभी जस्तो भाँडोमा कालो लुगाले छोपेर हेरिरहेको मान्छेले एक्सन भनेपछि मात्रै सबै सल्बलाउन थाल्छन्।'
अरु सबै उभिरहेका छन्। यो मात्रै कुर्सीमा बसिरहेको छ। फेरि कुर्सीमा बस्ने नै ठूलो मान्छे हो भन्ने कुरा मलाई समाजले जन्मिने बित्तिकै जबरजस्ती दिमागमा घुसाइदिएको थियो। मलाई लाग्यो यहाँको सबैभन्दा ठूलो मान्छे यही हो। यसले एक्सन भनेपछि मात्रै गीत बच्छ, हिरो हिरोइन नाच्न थाल्छन, क्यामेरा बोक्नेले खिच्न थाल्छ!
यसले कट भनेपछि सबै रोकिन्छ। मेरो धेरै ध्यान त्यही सेतो ह्याट लगाएर एक्सन कट भन्ने मान्छेतिर बढी केन्द्रित हुन थाल्यो। त्यो मान्छे जता जता जान्छ मेरो नजर त्यतै त्यतै जान थाल्यो, म पनि यस्तै बन्न पाए भन्ने लाग्न थाल्यो। फेरि घरिघरि हिरोइनको टाइट जिन्सको प्यान्ट र हिरोको कालो चस्माले पनि आकर्षित गर्थ्यो र लाग्थ्यो, यस्तै बन्न पाएँ।
दिनैभरिको सुटिङमा खाली एउटै गीतको एउटै हरफ 'सुटुक्क सुटुक्क गासौं न माया हाँसेर मुसुक्क मुसुक्क' मात्रै बजिरह्यो। यही मात्रै खिचिरहेँ। एकछिन खिच्छन फेरि कट भन्छन्। फेरि सेतो ह्याट लगाउनेले एक्सन भन्छ, फेरि त्यही कुरा खिच्न सुरु हुन्छ। त्यही सेतो ह्याट लगाउनेले फेरि कट भन्छ, फेरि रोकिन्छ। फेरि एक्सन त्यही कुरा खिच्न सुरु।
'छ्या सुटिङ त कस्तो झ्याउ लाग्दो हुँदो रहेछ' मलाई मनमनै लाग्यो। लाग्यो 'सुटिङमा त खाली एउटै कुरा मात्रै सुटिङ हुँदो रहेछ तर फिल्म हेर्दा कसरी थरिथरिका कुराहरु आउछन्?' म भित्र यही कुराले धेरै समयसम्म कौतुहलता जगाइराख्यो।
गोपी कृष्ण एफएम, रेडियो फिल्मीबाट बज्ने हरेक कार्यक्रम, विज्ञापनहरु पनि नछुटाइकन सुन्ने सायद म मात्रै थिएँ होला। नेपाली फिल्म र हिन्दी फिल्मका गीतहरु सुन्न त्यो एफएममा मैले धेरै फोन गरेँ। आफूले फोन गरेर बजाइदिन अनुरोध गरेको फिल्मको गीत बज्दा, मन खुसीको पखेटा हालेर उड्दै घर अगाडिबाट देखिने ठूलो पहाडको टुप्पोमा पुगेर, फिल्मको रंगीन संसार हेर्थ्यो। लाग्थ्यो, 'संसार नै फिल्म हो। संसारमा फिल्म बाहेक केही छैन।'
नेपाली फिल्म हेरेर हुर्किएको म, नेपाली फिल्मका हिरो हिरोइनको पोस्टर काटेर म स्कुलमा पढ्ने हरेक किताबको बाहिरी कभरमा टाँस्ने गर्थेँ। कुनै कुनै किताबमा टाँसेको पोस्टर चै स्कुलमा सरहरुले च्यातिदिन्थेँ। साह्रै रिस उठ्थ्यो। खाने मुखलाई जुँगाले छेक्दैन भनेझै भोलिपल्ट फेरि अर्को पोस्टर टाँसेर लेराउथे। सम्झना छ, कक्षा ८ पढ्दासम्म मेरो किताबको बाहिरी कभरमा फिल्मका पोस्टकार्ड टाँसीएका हुन्थे। आज सम्झिदा यस्तो लाग्दै छ, त्यो एकप्रकारले हाम्रो कलाविहीन शिक्षा प्रणाली प्रतिको अरुची थियो।
एउटा कुरा म कहिले पनि बिर्सिन्न, निखिल उप्रेतीले एउटा फिल्मको एउटा गीतको एउटा सिनमा कालो सर्ट लगाएको थियो। खोइ किन हो, मलाई त्यही सर्ट चाहियो। बजारभरि डुलियो पाइएन। बल्ल बल्ल एउटा पसलमा त्यस्तै त्यस्तै देखिने कालो सर्ट भेटियो। तर, लगाएर हेरेको मेरो शरीरमा त्यो सर्ट ठिक भएन। बुबाले ठिक भएन पर्दैन नकिन भन्नु भयो।
पसलेले अरु सर्ट देखाउन थाल्यो। तर, मलाई त्यही नै किन्नु थियो। ठिक होस् वा नहोस्, निखिल उप्रेतीले फिल्ममा लगाएको सर्ट पो थियो त। जसरी पनि त्यही नै किन्ने हो। मैले अरु हेर्न नचाहेको र त्यही सर्टमै आँखा गाडिरहेकोले बुबाले पनि त्यही किन्दिनु भयो। निखिल उप्रेतीले फिल्ममा लगाएको सर्ट किनेको खुसीले, आफू पनि निखिल उप्रेती भएको सोच्न थालेँ।
मेरो शरीरभन्दा निकै ठूलो सर्ट मैले किनेँ मात्रै, कहिले पनि लगाइनँ। त्यो सर्ट अझै पनि दराजको कुना कन्दरामा भेटिन्छ। सिनेमासँग हुर्किदाका भौतिक यादहरु त्यति धेरै नभए पनि आत्मिक र भावनात्मक यादहरु धेरै छन् जुन शब्दमा व्यक्त गरिरहन साह्रै कठिन कार्य लागिरहेको छ। उसो त सबै कुराहरु शब्दमै भन्नु पर्छ भन्ने पनि छैन, कति कुरा नभनेर नै मिठा मिठा हुन्छन्।
फिल्मका यस्ता अनेकौ भोगाइहरु, मेरो मनको क्यामेराले कैद गरेर, म सँगसँगै विलय हुने गरी मनमस्तिष्कमा सुरक्षित भएर बसेका छन्। जब म निदाउँथेँ तब म तन्द्रालु सपना देख्थेँ। जब म बिउझिन्थेँ तब म सिनेमाको सपना देख्थेँ। सपना जुनसुकै होस्, चाहे तन्द्रालु होस् या बिउझिदाको होस्, सिनेमाको बारेमा देखेको सपना मलाई संसारकै सबैभन्दा श्रेष्ठतम सिनेमाहरुभन्दा पनि सुन्दर लाग्थ्यो।
अहिले पनि लाग्छ। किनकी संसारका जुनसुकै श्रेष्ठतम सिनेमाहरु पनि सपनाबाटै जन्मिएका हुन्। जति सुन्दर सपना देख्यो उति सुन्दर सिनेमा बन्ने सम्भावना हुन्छ।
विस्तारै म सिनेमाको लतमा फस्दै गएँ। कोर्सका किताबमा पढाइने फर्मुला, थियोरीदेखिको बैराग्यले छोप्दै गयो। कोर्सका किताबबाट भड्किएको म कोर्स बाहिरका किताब, कथा, कविता, उपन्यास र सिनेमातिर आकर्षित हुन थालेँ। जतिजति मेरो उमेर बढ्दै गयो, उतिउति सिनेमाको लतमा भासिदै गएँ।
जान अन्जानमै थाहा पाए कि, सिनेमाको मेरुदण्ड निर्देशक हो। अब जसरी हुन्छ मलाई फिल्म निर्देशक बन्नु थियो। तर कसरी? प्यास लाग्नु पर्छ, पानीको कुवा जतापनि भेटिन्छ' भनेजस्तै मैले फिल्म कलेजको बारेमा थाहा पाएँ। अब जसरी हुन्छ मलाई फिल्म कलेजमा फिल्म निर्देशन पढ्नु थियो।
श्यामश्वेत पर्दा भित्र सलबलाउने विचित्रका रंगिन पात्रहरुप्रतिको कौतूहल, आफूले पढेका कथा, कवितामा सिनेमा बन्न सक्छ कि सक्दैन भन्ने जिज्ञासा र सिनेमा कसरी बनाउने? त्यो रंगिन संसारभित्र छिर्ने ढोका कहाँ छ? भन्ने छट्पटाहटको भुमरीमा उड्दै उड्दै म ओस्कार इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) मा भर्ना हुन पुगेँ।
फिल्म कलेज छिरेको दोस्रो वर्षसम्म पुगिसक्दा पनि मलाई सिनेमा भनेको त्यही लाग्थ्यो, जुन मैले पहिलो पटक जगदम्बा चलिचत्र मन्दिरको अँध्यारो कोठाभित्र हेरेको थिएँ। सिनेमा भनेको त्यही नै हो भन्ने भान हुन्थ्यो, जुन मैले गाउँगाउँबाट सिडी जम्मा पारेर घरको टेलिभिजनमा हेरेको थिएँ। भ्रमले मान्छेमा जोस पैदा गर्छ। म ठूलो भ्रममा थिएँ, त्यसैले मभित्र फिल्म कलेजको दोर्सो वर्षमै सिनेमा बनाउने जोस पैदा भएको थियो।
विश्व सिनेमाका केही सिनेमा हेर्ने र पढ्ने गर्न थालेपछि मेरो सिनेमा बनाउने जोस विस्तारै पछि हट्दै गयो र अन्तत विलिन भयो। क्यामेरा अन गरेर दृश्य खिच्नु मात्रै सिनेमा होइन भन्ने भ्रमबाट विस्तारै म बाहिर निस्किन थालेँ।
सिनेमा भनेको निर्देशकको विचारसँग सम्बन्धित विराट विषय हो भन्ने सामान्य कुरा बुझ्न मलाई निकै समय लाग्यो। जसरी हामी बाँचेको जीवन, जगत वा समाजमा विभिन्न रङ, स्वाद वा जिन्दगीहरु हुन्छन्, त्यसैगरी सिनेमा भित्र पनि विभिन्न रङ, स्वाद वा जिन्दगीहरु हुन्छन् भन्ने साधारण सत्य थाहा पाउन मलाई निकै कठिन भयो।
जसरी मेरो उमेर बढेसँगै म हुर्कदै गएँ, त्यसैगरी मेरो सिनेमा चेतना हुर्किएकै रहेनछ भन्ने कुरा थाहा पाउन मैले फिल्म कलेजको अन्तिम वर्ष कुर्नु पर्यो। फेरि यसो भनेर मैले कलेजलाई आक्षेप लगाउन खोजेको होइन। म आफ्नै दृष्टिकोणप्रति आक्षेप लगाइरहेको छु। किनभने, सिनेमामा दर्शन र विचार नदेखिने गरी छोपेर राख्नु पर्छ भन्ने कुरा मैले सिनेमा कलेजबाट दीक्षित हुने दिनसम्म पनि बुझिनँ वा बुझ्नै खोजिनँ।
सिनेमा कलेजबाट दीक्षित हुनेबेला दीक्षान्त सिनेमा जो बनाएँ, आफैँ निराश भएँ। फेरि खुसी पनि भएँ। निराश भए, आफ्नो दीक्षान्त सिनेमा राम्रो बनाउन नसकेर। खुसी भएँ, त्यही राम्रो बनाउन नसकेको नराम्रो फिल्मले राम्रो कुरा सिकायो।
मलाई लाग्थ्यो सिनेमा इस्यु हो। सिनेमा घटनाप्रधान हुनुपर्छ। तर, म गलत रहेछु। सिनेमा इस्यु नभएर इस्युको प्रस्तुतीकरण रहेछ। घटनाप्रधान सिनेमा त एउटा पत्रकारले रिपोर्टिङ गर्ने बेलामा खिचेको कुनै एउटा भिडिओको विकसित रुप मात्रै रहेछ।
मलाई लाग्थ्यो, सिनेमाबाट आदर्शवादी कुरा भनेपछि राम्रो मेकर भइन्छ। जुन भ्रम, मैले बनाएका केही कलेज प्रोजेक्टहरुले छर्लंग पारिदिन्छन्। जसरी हावा बिना जगतमा मानव जीवन असम्भव छ, त्यसैगरी आदर्श, दर्शन वा विचार बिना पनि सिनेमा असम्भव छ। तर, सिनेमामा यी सबै नदेखिने गरी आउनु पर्ने रहेछ।
जसरी हामीलाई यो जगतमा बचाइरहेको हावालाई हामी देख्न सक्दैनौं, केवल अनुभूत गर्न सक्छौं, त्यसैगरी सिनेमा भित्र पनि दर्शन वा विचार नदेखिने केवल अनुभूत मात्रै गर्न सकिने हुनुपर्ने रहेछ।
मेरो उमेर र सिनेमा चेतनाको बीचमा निकै वर्षको अन्तर छ। मेरो उमेरभन्दा मेरो सिनेमाको चेतना निकै कान्छो छ। म त धेरै हुर्किसकेँ तर मेरो सिनेमा चेतना हुर्किन बाँकी नै छ। हुर्किदै छ। तर पनि हिजोआज लाग्छ, मानव जीवनका अनुप्रासलाई क्यामेरासँग मिलाउन सके मन मालिस गर्ने सिनेमा बन्थ्यो कि?
वास्तवमा सिनेमा जीवनका लागि पनि हो। राम्रो सिनेमाले जीवनलाई नयाँ दृष्टान्त दिन सक्छ। राम्रो सिनेमाले बाँच्नुका अवस्थाहरुका बीचमा जीवनलाई सम्बोधन गर्न सक्छ। अस्तित्वमा भएका जटिलताका बीचमा अल्झिएको जीवनको सचित्र व्याख्या गर्न सक्छ। सबैका जीवनमा लागु नहुन पनि सक्छ तर भएन भन्दैमा कसैको पनि जीवनमा लागु हुँदैन भनेर सोच्नु त भएन नि।
ठिकै छ, या त विवेकवादी व्याख्या होस्, या रहस्यमय/वादी वा यथार्थवादी नै होस्, एक जना महापुरुषले भनेका छन् 'सौन्दर्यता एउटा अमूर्त भावनात्मक सत्य हो।' त्यस्तै मेरो हुर्किदै गरेको सिनेमा चेतनाले पनि यही भन्छ, सिनेमाको सौन्दर्यता पनि एउटा अमूर्त भावनात्मक सत्य हो जसले मानव संवेदनालाई आकर्षण र उत्प्रेरित गर्दछ।
वास्तवमा सिनेमाको सौन्दर्यता वस्तुपरक मात्रै नभएर आत्मपरक अनुभूति पनि हो। जगदम्बा चलचित्र मन्दिरको अँध्यारो कोठाभित्र चिना परिचय भएको सिनेमासँग हिड्दै, डुल्दै, खेल्दै र हुर्कदै आजको दिनसम्म आइपुग्दा के थाहा पाइस् भनेर कसैले सोधे, म यति मात्रै भन्न सक्छु, स्वभावैले मानिस सौन्दर्यताको उपासक हो। सौन्दर्यताले संवेदना जगाउछ र त्यही संवेदना नै यस्तो सृजनात्मक शक्ति हो जुन सिनेमामा रुपान्तरण हुन्छ।
र, मानव हृदय भित्र पसेर यसका पारखीहरुलाई आनन्द दिलाउछ, मनलाई मालिस गर्छ। राम्रो सिनेमा मन मालिस गर्ने तेल हो।