दुई धर्केको धर्सोले धसारेको कोभिड एकान्तबासमा राम्रो सञ्जोग जुर्यो। विस्तरामा पल्टिरहेको थिएँ, त्यसैबेला मुंशीजीले मलाई म जन्मेको गाउँ पुर्याए। स्कुल पढ्दाको सदरमुकाम डुलाए। मान्छे बोकेर सिमाना पार पुर्याउने घोडाले तान्ने ती टाँगाको दृष्य देखाए। सिवालयको सिढीँमा भिख माग्दै बसेका अशक्त र वृद्धलाई भिक्षा दिँदै फूल, प्रसाद लिएर मन्दिर उक्लने महाजनको रवाफ झल्काइदिए।
बचपनभरि कानमा गुञ्जिएका र साथीहरूसँग वार्तालाप भएको देहाती अवध भाषाका मुंशी प्रेमचन्दका कथाले मलाई भने समुन्द्रपारि पुर्याएको हुन्थ्यो। उही गोरू गाडामा चढेर रामघाटको मेला गएर बतासा खाँदै गरेका यात्राहरूको अनुभूति गराइरहेको हुन्थ्यो। हाफटाइममा पोलेका आलुसँग काटेका प्याज कडप्प टोक्दै देहाती साथीसँग जिस्किएका क्षण याद दिलाइ दिन्थे।
प्रविधिको कमाल! मिठो स्वरमा विस्तरामै पल्टँदै सुन्न पाइने पोडकाष्टमा प्रेमचन्द जीवन्त भेटिए। पण्डितले सुनाएका अष्टचिरञ्जिविहरूको सूचिमा उनको नाम थिएन तर उनी मेरै गाउँघरमा जीवित रहेछन्। अजम्बरी भएका रहेछन्। मेरा लागि त वेदव्यास जस्तै अजम्बरी भैसकेका रहेछन्। बचपनदेखि उनको नाम र बखान सुन्दै हुर्किएँ। तर, तल्लीन भएर न त उनलाई पढ्ने साइत जुरेको थियो न त मनन गर्ने जमर्को गर्न सकेको थिएँ। यही एकान्तबासमा उनलाई पढ्न वा सुन्न धेरै विलम्ब गरेर जीवनको बहुमूल्य समय किन खेर फालेँ भन्ने पछुतो लाग्ने गरी सुनेँ। मनन गरेँ। रमाएँ। चेत बढाएँ। उनले डोर्याएको समाजको झलकको उज्यालो पक्ष महसुस गरेँ।
उनको 'नमकका दरोगा' नामको कथा सुन्दा शीर्षकले नै गाउँको दक्षिण छेउको जुजुको दुकान अगाडि राखेका ढिके नुनका बोराको थाक झल्कायो। तर समाजलाई उज्यालो पार्ने ज्योतिको प्रकाशका शब्दजाल कथाको अन्त्यमा इमान्दार बन्न पाठकलाई उक्साउने मन्त्रमा समेटिएको रहेछ। अति सरल, बोलिचालीको लवज, छिमेकमा, पल्लो गाउँमा र हाटबजारमा भेटिएका सम्वादको रसोस्वाद गराए।
त्यसै उनी अमर भएका होइन रहेछन्। भावमा गहिराइ, सन्देशमा चेतना, प्रस्तुतिको मिठास र बिम्बको सिलसिलाले अमर तुल्याएको रहेछ भन्ने रहस्य पनि खुल्यो। त्यो सन्देशले मलाई उनीप्रति नतमस्तक बनायो। जुलाई ३१, १८८० मा जन्मेका उनी (धनपत राय श्रीवास्तव) को शरीर म जन्मनुभन्दा पहिला सन् १९३६ अक्टोबर ८ मै यो संसारबाट विलीन भैसकेको थियो तर साहित्यकार प्रेमचन्द मेरा लागि अहिले पनि जीवित रहेका छन्।
मनु (मनुस्मृति) ले विधुवा आमालाई सम्पत्तिको मालिक नबनाएर छोरालाई हकदार बनाएको विषयलाई विद्रोह भाव जगाएर परम्परा सुधारको चेत बाढ्न उनले निकै ढंग पुर्याएको पाएँ। इलाहाबाददेखि कलकत्तासम्म नै उनको जमानामा दयाभागको शाखा प्रचलित रहेछ भन्ने पनि बुझिन्छ। लैङ्गिक विभेद सुधारका पक्षमा केही हदसम्म उनले हिम्मत गरेको भेटिन्छ। तर, उनको चेत जातीय विभेद विरूद्ध पोखिन सकेको भने भेटिएन।
जातीय व्यवस्थामा अडेको विरादरी प्रथालाई उनले समाज सन्तुलनमा न्यायको कडीकै रूपमा पेश गरेको पाइन्छ। उनको चेतना स्तरलाई सनातन धर्मका रूपमा परिचित पूर्विय दर्शनले डोर्याएको स्पष्ट देखिन्छ। उनका कथाहरूलाई समाजको बिम्बकै रूपबाट इतिहासको पाठका रूपमा बुझ्न पनि सकिन्छ।
उनको लेखनमा तत्कालीन बेलायती शासकबाट मुक्ति पाउन जनचेतना जगाउने प्रयास गरेको भेटिन्छ। बेलायती उत्पादनका कपडाको बहिस्कारका घटनाक्रमलाई साहित्यको माध्यमबाट नैतिक बल प्रदान गरेर स्वतन्त्रता संग्राममा विद्रोहीका रूपमा उनी खडा भएको पनि पाइन्छ। उनले बेलायती शासनबाट स्वतन्त्र भएको भारतको समाज देख्न पाएनन् तर उपनिवेशबाट उन्मुक्तिका लागि ठूलो योगदान दिएका रहेछन्।
सन् १९२१ मा असहयोग आन्दोलनको समयमा महात्मा गान्धीले सरकारी जागीर छाड्ने आह्वान गर्दा उनले स्कुल निरीक्षकको जागिरबाट २३ जुनमा राजीनामा दिएका थिए। त्यसपछि उनले लेखनलाई नै व्यवसाय बनाए। मर्यादा, माधुरी आदि पत्रिकाको सम्पादकको भूमिकामा पनि काम गरे। प्रवासीलालसँग मिलेर सरस्वती प्रेस नामको छापाखाना किनेर हंस र जागरण पत्रिका पनि निकालेका थिए।
ऋणको भार हटाउन सिनेटोन कम्पनीमा कथा लेखकको जागीर खाए पनि उनी टिक्न नसकेर सम्झौता गरेको समय पनि पूरा नगरी छाडेका थिए। उनलाई त्यस काल खण्डका तथा बिसौँ शताब्दीका हिन्दी भाषाका सर्वश्रेष्ठ साहित्यकार मानिन्छ। उनका उपन्यासहरू असरारे मआविद, हमखुर्मा व हमसवाब, किशना, रूठी रानी, जलवए ईसार, सेवासदन, प्रेमाश्रम, रंगभूमि, निर्मला, कायाकल्प, अहंकार, प्रतिज्ञा, गबन, कर्मभूमि, गोदान, मंगलसूत्र हुन्।
त्यसैगरी उनले अन्धेर, अनाथ लड़की, अपनी करनी, अमृत, अलग्योझा, आखिरी तोहफ़ा, आखिरी मंजिल, आत्म-संगीत, आत्माराम, दो बैलों की कथा, आल्हा, इज्जत का खून, इस्तीफा, ईदगाह, ईश्वरीय न्याय, उद्धार लगायतका कथाहरू पस्किएका छन्।
ईदगाह नामको कथामा उत्तर भारतको समाजको चित्रण गर्दै अग्रजहरू प्रति सेवाभाव दर्शाउने बालभावना प्रेरित गर्न चिम्टाको बिम्ब पस्किएर बालमनोविज्ञानलाई उर्जा दिएका छन्। एउटा सोझो केटोले ईदको मेलामा खर्च गर्न पाएको पैसाबाट चिम्टा किन्ने चेत जगाएको छ उक्त कथाले। बच्चाको त्यस्तो विवेक हुँदैन भनेर कथाकारलाई अव्यवहारिक भन्नेहरू पनि होलान्। तर, उनका कथा पढ्ने बच्चाले के सिक्छ भन्ने मूल प्रश्न हो।
साँझ बिहान रोटी पकाएर परिवारलाई खुवाउने बुढीआमाका पोलिएका औँलाप्रति बच्चाहरूलाई सम्वेदनशील हुन सिकाएका छन्। अघिल्लो पुस्ताले पछिल्लो पुस्ताको भलाइका लागि गरिने योगदान बिर्सन नहुने चेत जगाउने उनको लेखनबाट धेरैले धेरै नै सिक्न सक्छन्। पीडी जेम्सको 'चिल्ड्रेन अफ म्यान' उपन्यासमा भविष्यका पुस्ता प्रतिको माया देखाएजस्तै प्रेमचन्दको भावलाई पनि लिन सकिन्छ। प्रोफेसर स्यामुएल स्क्याफलले त आफ्नो दार्शनिक विवेकको स्रोत समेत त्यसैलाई बताउने गरेका छन्। त्यस अर्थमा मुंशीका साहित्यमा दार्शनीक चेत भेटिन्छ।
एउटा कथामा मात्र होइन हरेक कथामा एक से एक सन्देश भेटिन्छ। परम्परागत रूपमा प्रचलित श्रवणकुमारको कथाले पितृ सेवामा समर्पित हुन सिकाउने लहरोलाई उनले समयअनुकूल सरल शब्दमा प्रष्टाएका छन्। पूर्वजन्म र अध्यात्मको जगमा अडिएको समाजकै पात्रका रूपमा आफूलाई पनि उनले उभ्याएका छन्। महिलालाई उनले स्वतन्त्र व्यक्ति नसम्झेर पुरूषकै दासीका रूपमा बुझ्नसकेको र त्यसै भावको निरन्तरतालाई सभ्यसमाजको कसी भन्ने अर्थ लगाएका छन्।
अहिलेको प्रविधिले बाँडेको चेतनाको अर्थमा उनी गलत देखिँदा पनि तत्कालीन समाजको चेतना स्तरको परिधिभित्र राखेर हेर्दा उनको योगदानबाट उदासिन भने हुनपर्ने ठहरिँदैन। भानुभक्तले नारी चरित्रको कसी निर्धारण गर्ने सन्देश तथा बधुशिक्षा र उनको समाजमा खासै फरक नभएकोले त्यसै समयको लागि उनका सन्देशको कदर गरिनु पर्छ। अहिलेको समाजमा उनको सन्देशलाई अध्यावधिक चेतबाट परिमार्जित गरेर नै बुझ्नु पर्ने हुन्छ।
समाजमा उनले देखेका निष्ठुरी, कपटी, झेल्ली पात्रहरूलाई नकारात्मक भाव दर्शाएका छन्। पाठक र श्रोतालाई असल पात्र बन्न उक्साउने उनका शब्दजाल अमर छन्। हिन्दीभाषी समाजमा उनको साहित्यले धेरै राम्रो भूमिका खेलेको छ।
उनको जस्तै परिवेशबाट अघि बढेको र समान सांस्कृतिक धरातलमा अडेको छ नेपाली समाज। नेपाली समाजले प्रेमचन्दलाई अङ्गीकार गर्न सके उस्तै संस्कार भावबाट नियम बाँध्दै गर्दा समान सन्देशद्वारा राम्रो छाप पर्नेछ।