टेलिसिरियलबाट दर्शकमाझ स्थापित कलाकारहरू धमाधम कथानक फिल्ममा फड्को मारिरहेका छन्।
दर्शकद्वारा रूचाइएको टेलिसिरियल 'सक्किगोनि' को टिमले गत वर्ष 'लाज शरणम्' प्रदर्शनमा ल्याएको थियो, जसको निर्देशन कुमार कट्टेल (जिग्री) ले गरेका थिए। सोही सिरियलका अर्का कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) पनि य तिबेला फिल्म निर्देशनमा व्यस्त छन्।
यसै क्रममा, 'सक्किगोनि' कै क्रिएटिभ समूहमा समेत आबद्ध कलाकार दीपकप्रसाद आचार्य (काकु) पनि निर्देशनको यात्रामा होमिएका छन्।
थुप्रै म्युजिक भिडिओ निर्देशन तथा वर्षौंसम्म टेलिसिरियलमा आफ्नो अनुभव सँगालेका दीपकको डेब्यु निर्देशन रहेको फिल्म 'परान' गत शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शन भइरहेको छ।
हास्य कलाकारका रूपमा परिचित आचार्यले यस फिल्मलाई पारिवारिक कथावस्तुमा आधारित एक मर्मस्पर्शी ड्रामाका रूपमा प्रस्तुत गरेका छन्।
प्रारम्भिक दिनमा अपेक्षित दर्शक बटुल्न नसके पनि, जसले यो फिल्म हेरेका छन्, उनीहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन्। फिल्म हेरेर दर्शक भावुक बनेका, आँसु खसालेका दृश्यहरू सामाजिक सञ्जालमा समेत छरपस्टिएका छन्। आखिर कस्तो छ त यो फिल्म, जसले दर्शकलाई यति भावुक बनाइरहेको छ?
धनकुटाको एक गाउँमा धर्मनाथ (नीर शाह) को जीवन त्यति बेलासम्म शान्त र सुमधुर रूपमा चलिरहेको छ। उनका तीन छोरामध्ये जेठा विदेशमा छन्, माइला छोरा र बुहारी काठमाडौंमा।
घरमा धर्मनाथ, उनकी श्रीमती, कान्छो छोरा र बुहारीको साथ छ। दुई छोरा घरबाट टाढा जाँदा केही दुःखी भए पनि कान्छो छोराको साथमा धर्मनाथको खुसी अडिएको छ।
गाउँमा उनको नाम छ, सम्मान छ र एक हिसाबले भन्दा सबथोक छ। गाउँमै कुखुरापालन गरेर बसेका कान्छा छोरा पनि बुबालाई अगाध प्रेम गर्छन्। उनकी श्रीमती शिक्षक छिन्।
धर्मनाथ ढुक्क छन्, कान्छा छोरा र बुहारी गाउँ छोडेर कतै जाँदैनन्।
तर कथाले यस्तो मोड लिन्छ, जसको कल्पना धर्मनाथले गरेकै हुँदैनन्।
अब छोरा दोधारमा छन् – एकातिर आफ्नो आडभरोसामा बसेका बुबाआमा, अर्कातिर श्रीमतीको धोको। बुबाआमाको खुसी हेर्ने कि श्रीमतीको सपना पूरा गर्ने?
यो कथाको रहस्योद्घाटनका लागि 'परान' हेर्नुपर्ने हुन्छ।
परानको कथावस्तु नयाँ होइन। छोराछोरीसँग टाढिएका आमाबुबा, अमेरिका–अस्ट्रेलिया सपना र गाउँका कथामा थुप्रै पारिवारिक फिल्म बनेका छन्। तर परान यीमध्ये विशेष अवश्य छ।
यसको सबभन्दा बलियो पक्ष कलाकारहरूको राम्रो अभिनय र मनछुने संवाद हो।
नीर शाहको धर्मनाथ पात्र फिल्मको मेरूदण्ड नै हो। धर्मनाथको भूमिकामा नीरले एक परिपक्व र बलियो अभिनय पस्केका छन्।
कान्छा छोराको भूमिकामा महेश त्रिपाठी जमेका छन्, जसले भावनात्मक द्वन्द्वलाई सजीव रूपमा प्रस्तुत गरेका छन्।
कान्छी बुहारीको रूपमा अञ्जना बराइलीले पनि प्रशंसनीय अभिनय गरेकी छन्।
माइला छोराको भूमिकामा प्रवीण खतिवडा सुहाएका छन् भने माइली बुहारीको भूमिकामा केकी अधिकारी स्वाभाविक लाग्छिन्।
धर्मनाथकी श्रीमतीको भूमिकामा पूजा चन्दको अभिनयले पनि दर्शकको मन छुन्छ।
अभिनेता बुद्धि तामाङ बोल्न नसक्ने निश्चल मन भएको पात्रको भूमिकामा स्वाभाविक लाग्छन्।
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ छिमेकीको भूमिकामा छोटो तर प्रभावकारी रूपमा देखिएका छन्।
समग्रमा, कलाकारहरूको अभिनयमा खोट लगाउने कुनै ठाउँ देखिँदैन। यमन श्रेष्ठ, बबिन राई लगायतका कलाकारहरूको अभिनय पनि बिझाउँदैन।
फिल्ममा थुप्रै संवादहरू छन्, जसले दर्शकको मन छुन्छन्, भावुक बनाउँछन् र सम्भवतः पछिसम्मै सम्झनामा रहन्छन्।
केही उदाहरणः
– पहिला पहिला बाआमा मरेपछि छोराछोरी टुहुरा हुन्थे। अहिले छोराछोरी बढेपछि बाआमा टुहुरा हुँदारहेछन्।
– भनेको मात्रै बुझ्ने भएकाले त छोरा, नभनी बुझ्ने भए त बा भइहाल्थ्यो नि!
– बाले हाम्रा मनका कुरा भन्दै नभनी बुझे। हामीले चाहिँ बाले भन्दा भन्दै पनि बाका मनका कुरा बुझेनौं। भन्दै नभनी मनका कुरा बुझ्ने भएर त बा भनेका होलान्।
– तँ मेरो औषधि होस् कान्छा, तँ मेरो छेउमा देखेपछि काल पनि डराएर भाग्छ।
– आफू जन्मेको भन्दा पनि आफ्ना जन्मेको ठाउँ प्यारो लाग्दो रहेछ।
यी खालका बलिया संवाद कमै फिल्ममा पाइन्छन्। यिनै संवाद नै फिल्मको सार हो भन्दा फरक नपर्ला। संवाद लेखनमा यम थापाको मेहनत तारिफयोग्य छ।

यो फिल्मको सबभन्दा राम्रो पक्ष चाहिँ कुनै पनि पात्रलाई दोष नदिई समय वा परिस्थितिजन्य बाध्यता प्रस्तुत गर्नु हो। अक्सर पारिवारिक फिल्ममा बुबा, छोरा, सासू वा बुहारीमध्ये कसैको कमजोरी वा दोष देखाइएको पाइन्छ। परान यो परम्पराबाट टाढा छ।
आज गाउँमा युवाहरू भेट्टाउन मुस्किल पर्छ। कोही सहरको चम्किलो सपना पछ्याउँदै छन् त कोही विदेशको मोहमा डुबेका छन्। जसका कारण बुबाआमा एक्लो भएका छन्।
यो ती बुबाआमाहरूको कथा हो, जसले आफ्नो जीवनको हरेक पल जन्मभूमिमा बिताएका छन्। उनीहरूका लागि गाउँ केबल माटो र ढुंगाले बनेको घर मात्र होइन, यो जीवनको लय हो, पितापुर्खाले सिँचेको भूमि हो। सन्तान हुर्काएको स्वर्णिम इतिहास पनि हो।
फिल्ममा देखाइएको छ — जब मुख्य पात्र धर्मनाथ सहरको कोलाहलमा पुग्छन्, तब गाउँमा फक्रिएर फुलेको मान्छे सहरको पिँजडामा बसेजस्तो अनुभूति गर्छन्। कुरा गर्ने साथीसंगी नहुँदा एक्लोपन महसुस गर्छन्। ती दृश्यले दर्शकलाई भावुक बनाउँछन्।
समग्रमा, परानले छोराछोरीको न्यानो साथको अपेक्षा गर्ने, जन्मस्थानमा बस्न रूचाउने बुवाआमा र सुख दिन खोजिरहेका तर बाआमाको खुसी के हो बुझ्न नसकेका सन्तानको कथा भन्छ। जसलाई निर्देशक दीपक आचार्यले सरल तरिकाले प्रस्तुत गरेका छन्।
डेब्यु फिल्मबाटै उनले निर्देशनमा राम्रो सम्भावना देखाएका छन् भन्दा फरक पर्दैन। यो फिल्म अहिलेको समाजको आफ्नै कथा लाग्छ। दर्शकले पनि यसमा आफ्नै कथाको प्रतिविम्ब पाउन सक्छन्।
फिल्ममा थुप्रै ठाउँमा बिम्बहरूको प्रयोग अर्को गज्जब पक्ष हो।
रूख ढलेको, मौरीको प्रयोग जस्ता दृश्यले कथालाई थप मिठास, अर्थपूर्ण र गहिराइ दिएका छन्। अर्को राम्रो पक्ष यसमा नचाहिने पात्रहरू अनावश्यक रूपमा घुसाइएको छैन। कथा बगिरहेको समयमा अनपेक्षित गीत पनि आाउँदैन। त्यो पनि फिल्मको राम्रो पक्ष हो।
फिल्ममा मदनकृष्ण श्रेष्ठ र यमन श्रेष्ठ बाबुछोराकै भूमिकामै छन्। जुन कथा मदनकृष्णको आफ्नै वास्तविक कथा समेत हो।

उसो त, फिल्ममा केही कमीकमजोरी नभएका होइनन्। यसको प्रस्तुति पुरानै शैलीको छ। फिल्मको पहिलो हाफको सुरूआती केही समय गति सुस्त लाग्छ।
पटकथा र खिचिएका दृश्य पनि केही काटछाँट गरेर अझ कसिलो बनाउन सकिने ठाउँ छन्।
दोस्रो हाफमा कान्छो छोरासँग नभएर माइलो छोरासँगको भावनात्मक सम्बन्धलाई जोडिएकाले पहिलो हाफजति बुलन्द नलाग्न पनि सक्छ।
छायांकन अझ राम्रो हुन सक्थ्यो, नराम्रो चाहिँ छैन। कतिपय दृश्यहरू दोहोरिएको र कतिपय दृश्य लामो समेत लाग्न सक्छन्। फिल्म हेरिरहँदा कताकति चाहिँ टेलिसिरियलको झल्को समेत आउन सक्छ। निर्देशकको पृष्ठभूमि टेलिसिरियल भएकाले पनि यसो भएको हुन सक्छ।
कतिपय दृश्य यसरी नदेखाएको भए भन्ने समेत लाग्नसक्छ। जस्तै कान्छा छोराले एक जानकारी बुबासम्म पुर्याउन भित्तामा पर्चा टाँसेको दृश्य अलि मज्जा नलाग्न सक्छ। यसलाई अन्य तरिकाबाट भन्दा अझ राम्रो हुन सक्थ्यो।
ध्वनि, प्रकाश र रङ संयोजनमा खास नवीनता छैन, ठिकठाक लाग्छ। गीतले कथावाचनमा भूमिका खेलेका छन्। एउटा गीत रमाइलो र अन्य मर्मस्पर्शी छन्।
केही सामान्य कमजोरीका बाबजुद 'परान' एक सामान्य कथा, सामान्य प्रस्तुति र शैलीमा दर्शकको मन छुने फिल्म बनेको छ। भनिन्छ नि, कहिलेकाहीँ केही कमजोरी भए पनि राम्रा पक्षले ती कमजोरीलाई छायामा पारिदिन्छन्। यो फिल्म त्यसमै पर्छ।
दुई घन्टा २६ मिनेटको यो फिल्मले कति बेला दर्शकलाई नोस्टाल्जिक बनाउँछ, कति बेला मन भक्कानिने बनाउन सक्छ भने कति बेला सोच्न बाध्य बनाउँछ।नेपाली समाजको अहिलेको समय र परिवार–परिवारभित्रको कथा बोकेको पारिवारिक फिल्म भएकाले यसलाई दर्शकले पनि रूचाएका छन्।
फिल्मः परान
निर्देशकः दीपक आचार्य
निर्माताः रञ्जित आचार्य, शेखर गोल्छा
कथाः दीपकप्रसाद आचार्य
पटकथा तथा संवादः यम थापा
अवधिः २ घन्टा २६ मिनेट
छायांकनः शिवराम श्रेष्ठ
सम्पादनः मित्र डी गुरूङ
कलाकारहरूः नीर शाह, महेश त्रिपाठी, प्रवीण खतिवडा, अञ्जना बराइली, केकी अधिकारी, पूजा चन्द, मदनकृष्ण श्रेष्ठ, बुद्धि तामाङ, यमन श्रेष्ठ, बबिन राई लगायत।
***