मोसिन हामिद दोस्रो पटक प्रतिष्ठित बुकर पुरस्कारको प्रतिस्पर्धामा छन्। शरणार्थी प्रेमजोडीको कथामा बुनिएको उनको उपन्यास 'एक्जिट वेस्ट' बुकरको छोटो सूचीमा अँटाएको छ।
हामिद र उनका पाठकहरूको प्रतिक्षा अब धेरै लामो छैन। मंगलबार बेलायतको राजधानी लण्डनमा आयोजना हुने समारोहमा यसवर्षको बुकर पुरस्कार घोषणा गरिने छ।
यसअघि 'दी रिलक्टेन्ट फण्डामेन्टलिस्ट' नामक उनको उपन्यास सन् २००७ मा यो सूचीमा परेको थियो। यो सालको बुकर हामिदको हातमा पर्न सकेन। तर दशवर्षपछि फेरि उनको उपन्यास बुकरको प्रतिस्पर्धामा छ।
बुकरको सूचीमा अहिले हामिदको 'एक्जिट वेस्ट'सहित अरू पाँच किताब छन्।
पाल अस्टरको '४३२१', इमिली फ्रिडलेन्डको 'हिस्ट्री अफ उल्भ्स', जर्ज सन्डर्सको 'लिंकन इन द ब्राडो', अली स्मिथको 'अटमन' र फियोना मोज्लेको 'इल्मेट' यो सूचीमा छन्। अस्टर, फ्रिडलेन्ड र सन्डर्स अमेरिकी लेखक हुन् भने स्मिथ र मोज्ले बेलायती।
हामिद पनि बेलायती नागरिक नै हुन्। तर, उनी बेलायत बस्न थालेको भने २००४ पछि हो।
पाकिस्तानको लाहोरमा जन्मिएका हामिद सानै उमेरमा उनका बुवासँगै अमेरिका पुगे। उनको पढाइ अमेरिकामै पुरा भयो। 'कन्सल्ट्यान्ट'का रूपमा जागिरको सुरुवात पनि अमेरिकामा नै भयो। पहिलो उपन्यास 'मोथ स्मोक' पनि अमेरिकाबाट नै प्रकाशित गरे। २००१ सेप्टेम्बर ११ को घटनापछि उनले अमेरिका बस्न उपयुक्त सम्झिएनन्। उनले अमेरिका बदलिएको अनुभूत गरे। फर्किएर केही समय लाहोरमा बिताए। अनि लन्डन पुगे।
यसपछि उनी निरन्तर लन्डन बसिरेहका छन्।
उनलाई अझै पनि युरोपको भन्दा अमेरिकी समाज उपयुक्त लाग्छ।
एउटा अन्तर्वातामा उनले भनेका छन्, 'बेलायतमा म सधैं पाकिस्तानीमात्रै हुन्छु। तर अमेरिकामा म पाकिस्तानी अमेरिकी हुन्छु।'
विश्वका विभिन्न ठाउँका मानिसहरूको मिश्रित समाज भएकाले अमेरिका सहज भएको उनको तर्क छ। युरोपमा भने जात(ट्राइब)को बोलबाला छ। युरोपेली बाहेक अन्यत्रका मानिसहरू पुस्तौं युरोपमा बसे पनि युरोपेली हुन सक्दैन।
केही समीक्षकले हामिदको उपन्यासमा उनको आफ्नै कथा आउने तर्क गरेका छन्। यो तर्क उनको उपन्यास 'दी रिलक्टेन्ट फन्डामेन्टलिस्ट'का लागि थियो। नयाँ उपन्यास 'एक्जिट वेस्ट'मा पनि यस्तो केही गुण देख्न सकिन्छ। उपन्यासका प्रमुख पात्रहरू नादिया र सइद पनि हामीदजस्तै घुमन्ते छन्, विश्वका विभिन्न सहरमा पुग्ने। नादिया र सइदको यात्रा भने हामिदको जस्तो आफ्नो छनोटको होइन। उनीहरू बाध्यताले थिचिएर आफ्नो सहर छोडेर पश्चिम जाने ढोकामा पस्छन्।
उपन्यासको सुरूवात एउटा बेनाम शहरबाट हुन्छ। शहर शान्त छ, नजिकैका सहरमा जारी युद्धका कारण आउने शरणार्थीहरूले ढाकेको पनि छ। यो सहरमा एक युवकले आफ्नो कक्षाकी अर्की युवतीलाई देख्छ, तर बोल्दैन। यहाँबाट उपन्यास सुरु हुन्छ।
उपन्यास वर्णित यो सहर सिरियाको कुनै सहर हुनसक्छ, किनभने यहाँबाट भागेर गएका शरणार्थीहरू ग्रिसका टापुहरूमा पुग्छन्।
सइद यहाँ आफ्नो परिवारसँग बस्छ र बेलुकीको कलेज पढ्छ। नादिया डेरा गरेर एक्लै पढ्न बसेकी छ। यो सानो उपन्यासमा घटनाक्रमहरू एकदमै छिटो अघि बढ्छन्। यसैगरी एकदमै छिटो नादिया र सइदको प्रेम सम्बन्ध सुरुवात हुन्छ।
सइद पक्का छ, उ नादियालाई प्रेम गर्छ। नादियालाई थाहा छैन, यो प्रेम हो कि होइन। तर उसलाई सइदसँग हुन राम्रो लाग्छ।
उनीहरू कलेज नहुँदा पनि कामपछि प्राय: साँझ भेट्छन्। कफी खान्छन्। घुम्छन्। क्युवा वा चिली घुम्न जाने सपना देख्छन्। नादियाले सइदलाई आफ्नो कोठा लैजान्छे। सइद नादियाका अंगहरूसँग खेल्छ। नादिया उसँग रमाउँछे। नादियाले यौन चाहना व्यक्त गर्छे। सइदले इन्कार गर्छ। विवाह पछि मात्रै यौन सम्बन्ध राख्ने भन्छ।
नादिया बुर्का लगाउँछे तर नमाज पढ्दिन। सइद नमाज पढ्छ तर उसलाई बुर्का नलगाउन सुझाउँछ।
'तिमी नमाज पढ्दिनौ तर किन बुर्का लगाउँछौ?' सइद नादियालाई सोध्छ।
'सो म्यान डोन्ट फक विथ मी,' नादिया सइदलाई जवाफ दिन्छे।
शान्त सहरमा यी दुई युवा स्वच्छन्द चराजस्ता छन्। उनीहरू पखेटा तबसम्म स्वतन्त्र हुन्छ, जुनबेलासम्म सहरमा युद्ध सुरु हुँदैन। एकाएक यो शान्त सहरमा युद्ध सुरु हुन्छ। सुरुका लडाईंहरुमा बन्दुक पड्केका आवाज सुनिन्छ। अनि बिस्तारै आकासमा लडाकु विमान उड्न थाल्छन्। भुइँचालो ल्याउने गरी बम बिस्फोट हुन थाल्छ। सहरमा कर्फ्यु लाग्न थाल्छ। अनि उनीहरूका स्वतन्त्र पंख कुँजिन थाल्छन्।
उनीहरूको बेलुकीको कलेज बन्द हुन्छ। नादियाले काम गर्ने बीमाको कार्यालय र सइदले काम गर्ने विज्ञापन एजेन्सी बन्द हुन्छ। सइदकी आमा मारिन्छे। उनीहरू सहर छोड्ने मनस्थितिमा पुग्छन्।
हामिदले उपन्यासको सुरुका केही अध्यायमा एउटा शान्त सहर कसरी युद्धभूमिमा बदलिन्छ भन्ने देखाएका छन्। युद्धले कसरी व्यक्तिगत स्वतन्त्रता खोस्छ भन्ने नादीया र सइदको दिनचर्यामा आएको परिवर्तनले देखाउँछ।
उपन्यासको दोस्रो खण्डमा उनी नादिया र सइदलाई युद्धग्रस्त सहरबाट बाहिर निकाल्छन्, शरणार्थीका रूपमा। उनीहरूलाई युरोप र अमेरिकाका विभिन्न सहरमा पुर्याउँछन्। यसमार्फत हामिद ग्लोबलाइजेसन र यसका विसङ्गती केलाउँछन्। उनको उपन्यासले देखाउने सबैभन्दा महत्वपूर्ण कुराचाहिँ बाहिरको परिस्थितिले कसरी व्यक्तिगत सम्बन्ध बिगार्छ भन्ने देखाउँछन्।
अरब र उत्तर अफ्रिकाका शरणार्थीहरूको जोखिमपूर्ण डुंगा यात्रा धेरैको चासोको विषय हो। डुंगा चढेर युरोप तर्ने क्रममा अहिलेसम्म हज्जारौं शरणार्थीले समुद्रमा ज्यान गुमाइसकेका छन्। उनीहरूको यो यात्रा एकदमै कष्टकर हुने समाचार र भिडियो रिपोर्टले आङ जिरिङ्ग बनाउँछ। 'एक्जिट वेस्ट'मा ठीक यही भाग भने पढन पाइँदैन। चलाखीसाथ हामिदले कथाको यो भागसँग खेलेका छन्।
युद्धको प्रभाव बढ्न थालेसँगै नादिया र सइदको सहरमा एउटा अनौठो ढोकाबारे हल्ला फैलन्छ। यस्तो ढोका जहाँसुकै हुनसक्छ। बिहान उठेर बाथरूमको ढोका खोल्दा यस्तै ढोका खुल्न सक्छ। अथवा भान्छाको, अथवा सिटिङ रूमको। जुनसुकै ढोका पनि यस्तो अनौठो ढोकामा बदलिन सक्छ। यस्तो ढोकाबाट मानिस संसारको जुनसुकै कुनामा पुग्न सक्छ। अरबको मान्छे एकाएक युरोपको कुनै सहर, अष्ट्रेलिया वा अमेरिकाको सहरहरूमा पुग्न सक्छ।
सइद र नादियाले सुरुमा यस्तो मायावी ढोकाको हल्ला पत्याउँदैनन्। जब सइदकी आमाको मृत्यु हुन्छ, उनीहरू यस्तो ढोकाको खोजिमा हुन्छन्। एकजना मानव तस्करले उनीहरूलाई विद्रोही लडाकुले थाहा नपाएको मायावी ढोकाबाट छिराउने भनेर पैसा लिन्छ। पैसा तिरेर उनीहरू यस्तो ढोकामा पस्छन्।
हामिदले विम्बका रूपमा प्रयोग गरेको यो ढोका अरू केही नभएर यी नै ज्यानमारा डुंगाहरू हुन्, जहाँबाट लाखौं शरणार्थी युरोप पुगेका छन् भने हज्जारौं समुद्रमा अलप भएका छन्।
यी ढोकाबाट यात्रा गर्नुको अनुभवबारे हामिद लेख्छन्,'त्यसबेला भनिन्थ्यो, यस्ता ढोकाहरूबाट हिड्नु जन्मिनु वा मर्नुजस्तै हो।'
नादिया र सइदले ढोका पार गरेर नयाँ जन्म पाउँछन्, ग्रिसको मिकोनज टापुमा पुग्छन्। शरणार्थीका रूपमा यहाँ केहीदिन बिताएपछि उनीहरू लन्डन पुग्छन्।
लन्डनमा हामिदले शरणार्थी जीवनका दु:खहरू चित्रित गरेका छन्। शरणार्थी समूहभित्रैका झगडा र असुरक्षा देखाएका छन्। मुलवासीबाट शरणार्थीमाथि हुने आक्रमण र घृणा, यसका नाममा हुने राजनीति यहाँ देखाएका छन्। शरणार्थीहरूले गरेको श्रम र बगाएको पसिना पनि यहाँ उनले देखाएका छन्।
लण्डनबारे हामिद भन्छन्, 'यहाँ दुईवटा लन्डन छ, एउटा उज्यालो लन्डन र अर्को अँध्यारो लन्डन्।'
उज्यालो लण्डनमा ठूलाठूला सपिङ मल, कफि सप, रेस्टुराँ र सिनेमा घर छन्। अँध्यारो लन्डनमा शरणार्थीहरू श्रम गर्छन्, अभाव र फोहोरको जीवनको बाँच्छन्।
हामिदले सइद र नादियाको कथासँगै विभिन्न उपकथा पनि जोडेका छन्। यी उपकथामा पनि उनले 'सर्रियालिज्म' को प्रयोग गरेका छन्। कतिपयमा उनले शरणार्थीका सम्यस्या चित्रित गरेका छन् भने कतै छोराछोरी परिवारले छोडेर एक्लिएका मुलवासीको कथा लेखेका छन्। जसले नादिया र सइदको कथाले भन्न छुटाएको भाग पुरा गरेको छ।
दिनभरको कामको थकान र अनिश्चित भविष्यको चिन्ताले नादिया र हामिदको सम्बन्धको न्यानोपन हराउँदै जान्छ। उनीहरूको कुराकानी कम हुन थाल्छ। शारिरिक स्पर्श पनि हुन छोड्छ। नादिया मानिसक रूपमा निकै बलियो छे, तर कमजोर सइदले आत्मविश्वास पनि हराएको देखिन्छ।
लन्डनबाट सइदहरू अमेरिकाको क्यालिफोर्नियास्थित मरिन सहरमा पुग्छन्, जुन सहर आप्रवासीले नै बनाएका छन्। यहाँ लन्डनमाजस्तो मूलवासीको भय शरणार्थीहरुलाई छैन।
अमेरिका र युरोपप्रतिको आफ्नो धारणा हामिदले यो उपन्यासमा पनि प्रयोग गरेका छन्। आप्रवासीका लागि अमेरिकी समाज सहज छ भन्ने उनी यो उपन्यासमा पनि लन्डनभन्दा मरिन सइद र नादियाका लागि सहज देखाउँछन्।
उपन्यासमा हामिदले लेखेका छन्, 'हामी कोही पनि आदिवासी होइनौं, हामी सबै कै न कुनै समयका आप्रवासी हौं।'
मरिनमा नादिया र सइदको चिसो सम्बन्धमा सुधार आउँदै हुन्छ तर उनीहरू छुट्टिने निर्णयमा पुग्छन्। अरबबाट ग्रिस, बेलायतहुँदै अमेरिकाका आइपुग्दा एक पलका लागि नछुट्टिएका उनीहरू जीवनमा पहिलोपल्ट अलग हुन्छन्, सधैंका लागि।
के उनीहरूको सहरमा युद्ध नभएको भए, उनीहरुको सम्बन्ध यसरी टुट्थ्यो? के उनीहरूल अस्तव्यस्त र भविष्यको कुनै चित्र नभएको शरणार्थी जीवन जिउनु नपरेको भए उनीहरूको सम्बन्ध टुट्थ्यो? उनीहरूलाई केले अलग बनायो?
पचास वर्षपछि उनीहरू फेरि आफ्नै सहरमा भेटिन्छन्। कफि खान्छन्।
नादिया सोध्छे,'हामीले विहे गरेको भए हाम्रो जीवन कस्तो हुन्थ्यो होला है?'
जवाफमा सइद सोध्छ,'हामीले यौन सम्बन्ध बनाएको भए हाम्रो जीवन कस्तो हुन्थ्यो होला है?'
यतिबेला यो सहर शान्त छ। युद्ध छैन। पहिले, सइद र नादिया भेट हुँदाको समयजस्तै, सहरमा कफीसपहरू छन्। युद्धमा भत्किएका घरहरू बनिसकेका छन्।
के यो हामिदको भविष्यप्रतिको दृष्टि हो? अबको पचास वर्षमा अहिलेका युद्धग्रस्त सिरिया, इराक, अफगानीस्तानका सहरहरूले यसैगरी शान्ति र विकासको सास फेर्लान? 'एक्जिट वेस्ट'को जस्तो सुखद सुरूवात छ, उपन्यासभरी अहिलेको समयकै सबैभन्दा ठूलो दु:ख चित्रित गरे पनि अन्त्य त्यस्तै सुखद छ।
हामिदको यो अन्त्य 'युटोपियन' छ भन्ने आलोचना केही समीक्षकले गरेका छन्। तर, नयाँ संसारको परिकल्पना प्राय: युटोपियन देखिन्छ। उपन्यासकार हामिद यी कहालीलाग्दा युद्ध श्रृंखलाबाट अहिलेका युद्धग्रस्त समाज मुक्त हुनेमा आशावादी देखिन्छन्।