यसपालि मेघनाथ अर्यालले विद्युतीय मोटरबाट खोलाको पानी तानेर एकै दिनमा सय रोपनी खेतमा धान रोपे।
गुल्मीको धुर्कोट गाउँपालिका–६, रजस्थलका किसान मेघनाथले यही साउन ३ गते रोपाइँ गरेका हुन्। रोपाइँका दिन खेतमा तीन वटा ट्र्याक्टर चलेका थिए। रोपाहार १०२ जना र खनखोरस गर्ने ठिँगारे १७ जना गरी जम्मा ११९ जना श्रमिक थिए।
मेघनाथको घर रजस्थल गाउँमा र खेत अलि पर सिस्तुङ भन्ने ठाउँमा छ। उनको खेतमा रोपाइँका दिन सिंगो सिस्तुङ उल्लासमय बनेको थियो।
एकातिर खेतमा चलिरहेका ट्याक्टर र पम्पिङ सेटको आवाज, अर्कातिर स्थानीय बाजाको तालमा कलाकारहरूले गाएको गीत। खेतमा रोपाहार र ठिँगारेको नाच पनि चलेको थियो।
मेघनाथले पाँच वर्षदेखि आफ्नो ७२ रोपनी र स्थानीय एक जनाको २८ रोपनी खेत भाडामा लिएर खेती गरिरहेका छन्।
'पहिले यहीँको ओवान खोलाबाट ल्याएको पानीले सिँचाइ गर्थेँ। यसपालि खोलाको मुहान धस्सियो। मोटर चलाएर पानी तान्नुपर्यो,' मेघनाथले भने, 'लगातार तीन दिन पानी तानेर खेत तयार गरेँ। अनि एकै दिनमा रोपाइँ सकेँ।'
उनले बाजागाजा र सांस्कृतिक कार्यक्रम सहित एकै दिनमा धान रोपाइँ गरेको भने यो चौथो वर्ष हो। उनी रोपाइँमा स्थानीय जनप्रतिनिधि, कर्मचारी र जिल्लाका उच्च पदस्थ व्यक्तिहरूलाई पनि बोलाउँछन्।
यस वर्ष पञ्चेबाजाका साथ हरि खत्री, शकुन्तला गैरे र हिमाल थापाले गीत गाएका थिए। रोपाहार र खनखोरस गर्ने ठिँगारेहरूको लश्कर हेर्न स्थानीयवासी र आमन्त्रितको बाक्लो उपस्थिति थियो।


मेघनाथ यस्तो रोपाइँलाई पर्वका रूपमा लिन्छन्।
'हामी नेपाली किसान असार १५ लाई पर्व मान्छौं। यसपालि मैले साउन ३ गते पर्व मनाउन पाएँ,' उनले भने, 'एकै दिन रोपाइँ हुँदा श्रमिक जुटाउन सजिलो र खर्च कम हुन्छ। महोत्सव त हुने नै भयो।'
यसपालि बाजागाजा र सांगीतिक कार्यक्रमसहित रोपाइँका दिन करिब दुई लाख रूपैयाँ खर्च भएको उनले बताए।
किसानहरूले नै कृषि कर्मलाई बोझ मान्न थालेको उनलाई राम्रो लागेको छैन। उनी कृषिकर्म पौरख हो भन्ने बुझाउन र देखाउन चाहन्छन्।
मेघनाथ २०४८ सालमा उच्च शिक्षा अध्ययनका लागि गुल्मीबाट बुटवल आएका थिए। पढाइपछि पेसा–व्यवसाय गर्दै ३० वर्ष बिताए।
केही वर्ष बुटवल उपमहानगरपालिकामा काम गरे। सरकारी कार्यालयको जागिर चित्त बुझेन। त्यो छोडेर बुटवलको ट्राफिक चोकमा एउटा होटल चलाए।
होटल राम्रै चलिरहेको थियो। उनले वैदेशिक रोजगारीमा जाने सोचे। २०७१ सालमा दक्षिण कोरिया जाने अवसर मिल्यो। उनी होटल बेचेर गए।
कोरियामा पाँच वर्ष काम गर्ने भनेर गए पनि उनी त्यहाँ रमाउन सकेनन्। तीन वर्षमै फर्के।
उनी फर्किने बेला बुटवलमा जग्गाको कारोबार फस्टाएको थियो। कोरियामा कमाएको पैसा लगानी गरेर उनले जग्गाकै कारोबार गरे। उनको कमाइ राम्रो भयो।
२०७६ सालको अन्त्यमा कोरोना भाइरस महामारी फैलिएपछि जग्गाको कारोबार ठप्प भयो।
मेघनाथ २०७७ साल चैतमा बुटवल छाडेर आफ्नै गाउँ धुर्कोट फर्के।
तीस वर्षपछि फर्केर आफ्नो गाउँ नियाल्दा उनले देखे — जग्गा बाँझो बन्दै गएको थियो।
उनलाई आफू जन्मेहुर्केको माटोमा कृषिकर्म गर्ने विचार आयो। अनन्तः आफ्नै जमिन खनजोत गरेर उर्वर बनाए।
उनको काममा श्रीमती तारा सारथि बनेकी छन्। बिबिए पढाइ पूरा गरेका छोरा उच्च अध्ययनका लागि विदेश जाने तयारीमा छन्। छोरी बुटवलमा ११ कक्षा पढ्दै छिन्।
मेघनाथ कृषिकर्मबाट निकै सन्तुष्ट छन्।


'म २७ वर्ष बुटवल र तीन वर्ष कोरिया बसेँ। गाउँ फर्किएको पाँच वर्ष भयो। तर तीस वर्षमा गर्न नसकेको काम गरेको छु,' उनले भने।
मेघनाथ–तारा दम्पतीले खेतीसँगै भैंसीपालन पनि गरेको छ। उनीहरूसँग २८ वटा भैंसी छन्। दैनिक सरदर सय लिटर दूध बेच्छन्।
खेती र गोठमा काम गर्न १२ जना तलबी कामदार छन्।
'करिब साढे एक करोड रूपैयाँ लगानीबाट खेती र भैंसीपालन सुरू गरेका हौं,' उनले भने।
उनका अनुसार कृषि कर्ममा केही धैर्य र मेहनत चाहिन्छ तर सफलता पक्का छ। आफ्नै जीवन यसको उदाहरण रहेको उनको भनाइ छ।
'कृषि र पशुपालन तत्काल प्रतिफल पाइने पेसा होइन। धैर्य चाहिन्छ,' उनले भने, 'गाउँमा बाँझो बसेको जमिनमा खेती गरेर उत्पादन बढाउन सके मात्रै स्वरोजगारी सिर्जना हुन्छ अनि मात्र देश कृषि उत्पादनमा आत्मनिर्भर बन्छ।'
बाँदर र बँदेलले बाली नष्ट गर्ने समस्या नहुने र सरकारले सिँचाइको राम्रो प्रबन्ध गरिदिने हो भने कृषिमा आकर्षण बढ्दै जाने उनको विश्वास छ।
मेघनाथले गत वर्ष चार सय मुरी (करिब ३२० क्विन्टल) धान भित्र्याएका थिए। त्यसलाई उनले पहिलो पटक 'धुर्कोटे चामल' ब्रान्ड नाममा बेचे। तर आफ्नो मात्रै चामल थोरै भएकाले बजार पठाउन सकेनन्। त्यसैले यस वर्ष गाउँका अरू किसानको पनि धान किनेर धुर्कोटे ब्रान्डमै चामल बजार पठाउने योजना छ।
उनको कृषि अभियानमा गाउँपालिकाले पनि केही सहयोग पुर्याएको छ। सिँचाइ, प्रविधिका सथै चामलको ब्रान्डिङका लागि ढुवानी र प्याकिङमा सहयोग गरिएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताए।
