बलिउडका चर्चित निर्माता करण जोहरले धर्मा प्रोडक्सनको ५० प्रतिशत सेयर बेचेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनले सिरम इन्स्टीट्युटका सञ्चालक आदार पुनावालालाई सेयर बेचेका हुन्। उनीहरूबीच १००० करोडको सम्भाैता भएको छ। बाँकी ५० प्रतिशत सेयर करण जोहरको नै हुनेछ।
कम्पनीको कार्यकारी अध्यक्षको हैसियतमा करण जोहरले कम्पनीको सबै रचनात्मक कार्यको नेतृत्व गर्नेछन् भने अपूर्व मेहताले प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्ने बताइएको छ।
यो सहकार्य भारतीय सिनेमालाई विश्वमा लैजान महत्वपूर्ण कदम हुने धर्मा प्रोडक्सनले उल्लेख गरेको छ।
करण जोहरको धर्मा प्रोडक्सन भारतको प्रमुख फिल्म निर्माण कम्पनीहरू मध्ये एक हो। जसले 'दोस्ताना, दुनियाँ, मुक्कदरका फैसला, गुमराह, कभी खुशी कभी गम, माइ नेम इज खान, अग्निपथ, ये जवानी है दिवानी, लन्च बक्स, राजी' जस्ता फिल्म निर्माण गरेको छ।