भारतका चर्चित मलयालम अभिनेता शाइन टम चाको विवादमा फसेका छन्।
केहीदिन अघि अभिनेत्री विन्सी अलोशियसले उनीमाथि दुर्व्यहार गरेको आरोप लगाउँदै नशाको अवस्थामा लागु औषध खाएर थुकेको शंका व्यक्त गरेकी थिइन्। यसपछि अभिनेता चाको नारकोटिक्स विभागको निगरानीमा परेका थिए।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार कोच्चीस्थित एक होटलमा नारकोटिक्स टोलीले छापा मारेको थियो। जसलाई देख्ने बित्तिकै अभिनेता होटलबाट फरार भए। तीन दिनसम्म उनको खोजी गरेपछि अन्ततः शाइन आफैं नारकोटिक्स टोलीको सामु उपस्थित भए। नारकोटिक्सले उनीविरूद्ध समन पठाएको थियो। उनी शनिबार बिहान उत्तरी एर्नाकुलम प्रहरी कार्यालयमा पुगेका थिए, जहाँ चार घण्टा सोधपुछ गरिएको थियो।
प्रहरी स्रोतका अनुसार शाइन टम चाकोको साथबाट कुनै पनि लागु औषध बरामद नभएको भए पनि, उनी भागेको घटना शंकास्पद मानिएको छ। सोधपुछका क्रममा उनले आफूमाथि आक्रमण हुनसक्ने डरले भागेको बयान दिएका छन्। कल रेकर्ड, सीसीटीभी फुटेज लगायतका प्रमाणहरूको अनुसन्धान जारी रहेको जनाइएको छ।
शाइनमाथि आरोप लगाउने अभिनेत्री विन्सी अलोशियसले भनाइ दिँदै एएमएमए (असोसिएसन अफ मलयालम मुभी आर्टिस्ट्स) मा गुनासो दर्ता गरेकी थिइन्। उनले फिल्म 'सूत्रवाक्यम' को सेटमा शाइनले नशामा दुर्व्यहार गरेको आरोप लगाएकी हुन्। सुरूमा उनले नाम खुलाउन मानेकी थिइनन्, तर पछि एक अधिकारीले शाइनको नाम सार्वजनिक गरेका थिए।
शाइन टम चाको यो पहिलोपटक विवादमा मुछिएका होइनन्। सन् २०१५ मा पनि उनी लागु औषध मुद्दामा पक्राउ परिसकेका थिए। त्यसबेला पनि उनीमाथि प्रतिबन्धित पदार्थको प्रयोग र ओसारपसारको संलग्नताको आरोप लागेको थियो।
शाइन टम चाको मलयालम, तमिल र तेलुगु फिल्ममा सक्रिय छन्। हालै उनी अजित कुमार अभिनीत फिल्म 'गुड ब्याड अग्ली' मा देखिएका छन्।